‘साइकलबाट विश्व भ्रमण गर्न मलाई इच्छाशक्तिले फिटान बनायो’ : पुष्कर शाह (विश्व साइकलयात्री)

‘साइकलबाट विश्व भ्रमण गर्न मलाई इच्छाशक्तिले फिटान बनायो’ : पुष्कर शाह (विश्व साइकलयात्री)


पुष्कर शाह, विश्व साइकलयात्री नेपालीको नामले परिचित छन् । आफ्नो साइकलयात्रालाई पुस्तकको रुपमा लेखिएको कृति संसारलाई साँढे पाँच फन्को सार्वजनिक पनि गरेका छन् उनले । २१ वर्ष पहिले साइकल लिएर विश्व भ्रमणमा निस्किएका पुष्कर शाहसँग यात्रा अवधिभर के कस्ता अनुभवहरु रहे त ? केन्द्रबिन्दुका वरिष्ठ उपसम्पादक ज्ञानमणि नेपाल कालोटोपीले यसपटक उनै विश्व साइकलयात्री पुष्कर शाहसँग कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको संक्षेप

१.साइकल चलाउन कहिले सिक्नुभयो ?
मैले २१ वर्षको उमेरमा साइकल सिकेको हुँ । एक घण्टाको १ रुपैयाँ भाडा तिरेर । २६ वर्षको उमेरमा साइकल लिएरै विश्व भ्रमणमा निस्किएँ । म ०५५ साल साउन १६ गतेको त्यो दिन जिन्दगीमै विर्सन सक्दिन । जुन दिन म साइकल लिएर विश्व भ्रमणमा निस्किएको थिएँ ।

२.तपाईंलाई साइकलबाटै आफू विश्व भ्रमण गर्न सक्छु भन्ने सोच चाहिं कहाँबाट आयो ?
सबैले केहि न केहि नयाँ काम गरिरहेको मैले सुनेको थिएँ । म पनि किन यस्तो काम नगर्ने त भन्ने सोच पहिलेदेखि नै थियो । कति घर र स्कूल मात्र गर्ने भन्ने लागिरहन्थ्यो । एकदिन माइतीघर नजिकैको एउटा छ्याङ खाने पसलमा साथीहरुसँग छ्याङ खाँदै थिएँ । एक्कासी विश्व भ्रमणको सोच आयो र उनीहरुलाई भनें– ल है साथीहरु म अब विश्वभ्रमणमा निस्किएँ । मेरो कुरा सुनेर उनीहरु गललल हाँसे । केहिले गिज्याए पनि । केहिले त बल्ल पुष्करेलाई छ्याङ लागेछ पनि भने । म उनीहरुको कुरै नसुनी चुनौती दिएर निस्किएँ । मलाई छ्याङ लाग्यो विश्व घुमेर आएँ, म ११ वर्षमा १५० वटा देश घुमेर फर्कंदा पनि ती साथीहरु त्यहि पसलमै छ्याङ खाँदै रहेछन् ।

३.छ्याङ लागेर त केहि गर्नै सकिन्न भन्छन् , तपाईंले त झन छ्याङ लागेपछि पो नयाँ काम गर्नु भयो नि । यो कसरी भयो ?
संसारमा असम्भव भन्ने कुरा केहि छैन । सबैभन्दा ठूलो कुरा इच्छा हुनु पर्छ । म पैसाले संसार घुमेको होइन । जतिबेला म रित्तो हात विश्व भ्रमणमा निस्किएको थिएँ त्यतिखेर आमाले दिनुभएको एक सय रुपैयाँ साथमा थियो । मैले एक सय पचास देश घुमेर आएपछि आमालाई त्यो एक सय जस्ताको त्यस्तै फिर्ता गरेको थिएँ । केहि काम पूरा गर्न इच्छाशक्तिले फिटान हुनु पर्छ, तर म साथीहरुले भने जस्तो छ्याङले फिटान भएको थिइन , इच्छाशक्तिले फिटान भएको थिएँ । जसले गर्दा आज यो सफलता हात लाग्यो ।

४.एकसय पचास देशको भ्रमण गर्दा कस्ता रहे अनुभवहरु ?
मैले विश्वका १५० वटा देश साइकलकै माध्ययमबाट घुमेको छु । २ लाख २१ हजार किलोमिटर । जुन दुरी हिसाब गर्दा संसारलाई साँढे पाँच फन्को हुन्छ । यसकै सेरोफरोमा मैले आफ्नो पुस्तक संसारलाई साँढे पाँच फन्को निकालेको छु । धेरै अनुभव बटुलियो । दुःख र अभाव कस्तो हुन्छ भन्ने पनि थाहा भयो । रमाइलो भनेको के हो भन्ने पनि थाहा भयो । धेरै ठाउँमा भाषा नबुझ्दा समस्या भयो । भाषा र भिसाको समस्या एकातिर थियो भने चोरी र डकैतीको पनि उस्तै डर । कति ठाउँमा पानी पनि पिउन नपाएको अवस्थालाई पनि सामना गरियो । भोको बस्दा कस्तो हुँदो रहेछ भन्ने पनि जानियो । कतिपय देशमा मुस्किलले बाँचिएको घटना याद आउँछ । जसलाई विर्सन सकिंदैन ।

५. सम्झनलायक केहि याद र घटनाहरु बताइदिनुस न ।
म मुस्किलले बाँचेको घटनाहरु धेरै छन् । सेकेण्डको भरमा बाँचेको एउटा घटना मेक्सिकोको जंगलमा लुटिएको, जो म सधैं सम्झन्छु । मेक्सिको पसेकै दिन अपहरणमा परियो । मरियो अब यति नै रहेछ भन्ने जस्तो पनि भयो । ट्रकमा हालेर चकमन्न अँध्यारोमा जंगलको वीचमा पु¥याए । अब मारे भन्ने लाग्दा जे पर्ला पर्ला भनेर गोर्खालीको सान देखाएँ । जोडले मुक्का हानेर जंगलै जंगल भागेर ज्यान जोगाएँ । ५ डलरका लागि मान्छेकै ज्यान लिने ठाउँमा पनि बाँचेर आएँ । ११ पटक लुटिएँ । न्युजिल्याण्डमा साइकल नै लुटियो । प्रायः अफ्रिकातिर त जंगली जनावरभन्दा हिंसक मान्छेहरु पनि भेटिए । धेरै छन् यस्ता घटनाहरु ।

Logo