रातारात भाइरल एउटा फोटो: प्रधानमन्त्री ओलीले बजाए बासुरी, खनाल र नेपालले रेटे सारंगी

रातारात भाइरल एउटा फोटो: प्रधानमन्त्री ओलीले बजाए बासुरी, खनाल र नेपालले रेटे सारंगी


मंगलबार रातिदेखि एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ  । फोटोमा प्रधानमन्त्री केपी शर्मा ओलीले बासुरी बजाइरहेको देखिन्छ भने नेकपाका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले सारंगी रेटेर प्रधानमन्त्री ओलीलाई साथ् दिइरहेको देखिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार साँझ ‘सारङ्गी साँझ’ कार्यक्रममा सहभागी भएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित नेपाली मौलिक बाजा र धुनहरुको ‘सारङ्गी साँझ’ मा उनी सहभागी भएका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सारङ्गी र बाँसुरी बजाएको कला प्रतिष्ठानका महासचिव डा. देवी नेपालले जानकारी दिए । ‘‘पहिले उहाँले एक्लै सारङ्गी बजाउनुभएको थियो’’, डा नेपालले भने, ‘‘त्यसपछि पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सारङ्गी र प्रधानमन्त्री ओलीले बाँसुरी बजाएका थिए ।’’

डा नेपालले प्रधानमन्त्री, मन्त्रीगणलाई मौलिक बाजा र धुनको संरक्षण गर्नुपर्दछ भन्ने सन्देश दिनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए । पूर्वको लिम्बू जातिको पालमदेखि सुदूरपश्चिम प्रदेशको देउडासम्मकोे १० प्रकारका धुन सो अवसरमा बजाइएको थियो ।

नाट्य प्रतिष्ठानका करिब ३० कलाकारले विभिन्न बाजाको धुन बजाएका थिए । धुनको संयोजन नाट्य प्रतिष्ठानका प्राज्ञ सदस्य अशोक राईले गरेका हुन् ।

Logo