“कोरोना भाइरसको संक्रमणबाट बिचलित हुनु हुँदैन”- सृजना राणा (अध्यक्ष, होटल एसोसिएसन नेपाल)

“कोरोना भाइरसको संक्रमणबाट बिचलित हुनु हुँदैन”- सृजना राणा (अध्यक्ष, होटल एसोसिएसन नेपाल)


बीस लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ कोरोना भाइरसका कारण प्रभावित भएको छ । नेपालको प्रमुख पर्यटकीय स्रोत मानिने चीनमा कोरोना भाइरसको संक्रमणले आतंक मच्चाएपछि त्यसको प्रभाव नेपालको पर्यटन क्षेत्रमा परेको हो । कोरोनाको बढ्दो संक्रमणसँगै चीनबाट नेपाल आउने पर्यटकको संख्या ह्वात्तै घटेका छन् । यसलाई नेपालका  होटल व्यवसायीहरूले कसरी लिएका छन् त ? प्रस्तुत छ, यसै बिषयमा केन्द्रबिन्दुका सृजना राईले होटल एसोसिएसन नेपालका अध्यक्ष सृजना राणासँग गरेको कुराकानी:

१. नेपाल भ्रमण वर्ष २०२० घोषणा भएलगत्तैै कोरोना भाइरसले आतंक मच्चाएको छ । यसलाई कसरी लिनु भएको छ ?

कुनै पनि मुलुकले खास योजना बनाउनुमा एउटा कारण हुन्छ । पर्यटनले मुलुकलाई जुन खालको अर्थतन्त्रमा टेवा दिन्छ । त्यसै कुरालाई मध्यनजर गर्दै सरकारले २०२० लाई भ्रमण वर्ष घोषणा गरेको हो । २०२० मा यो नसोच्नुहोस् कि नेपाल भोलि नै परिवर्तन हुन्छ । नेपालमा पर्यटकीय गन्तव्यहरु छन् भनेर जुन खालको प्रचारप्रसार भएको छ । यसले नेपाललाईलाई चिनाएको छ । नेपालको ठूलो उपलब्धि यहि हो । कोरोना भाइरसको संक्रमणबाट हामी बिचलित नभई सतर्कतापूर्वक आफ्नो अभियानमा सहभागि हुँदै अघि बढ्नुपर्छ ।

२. नेपालको प्रमुख पर्यटकीय स्रोत चीनमा संक्रमण फैलिएपछि अहिले चिनीयाँ पर्यटकको आगमन ह्वात्तै घटेका छन् । यसले होटल व्यवसायमा के कति प्रभाव परिरहेको छ ?

पक्कै पनि यो होटलको मात्र नभई सबै नेपालका लागि एकदमै दुःखको कुरा हो । किनभने  नेपालको दोस्रो ठूलो पर्यटन बजार हो चीन । चीनले नेपालको पर्यटन व्यवसायमा ठूलो टेवा दिएको छ । त्यसै माथि जनवरी महिना चिनियाँहरुको नयाँ वर्ष पनि हो । अहिले चिनियाँ पर्यटक घटे पनि अब चाँडै नै यो समस्याको समाधान भई चिनियाँ पर्यटक बृद्धि हुनेमा आशावादी छौं ।

३. कोरोना भाइरसले होटल व्यवसायमा लागेको धक्कालाई कसरी परिपूर्ति गर्ने योजना छ ?

कोरोना भाइरसका कारण उत्पन्न समस्याप्रति होटल व्यवसायमा ठूलो धक्का लागेको छ । बेला बेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा देखा पर्ने विभिन्न किसिमका रोग तथा आपत बिपद्को सामना गर्दै होटल व्यवसायी अगाडि बढिरहेको अवस्था थियो । अहिले पनि कोरोना भाइरसको सामना गरी अगाडि बढ्नेछौं । साथै अरु मुलुकहरुमा प्रचारप्रसारलाई जोड दिनेछौं ।

४. पर्यटकलाई संक्रमणबाट जोगाउन नेपाल होटल संघले के कस्तो व्यवस्था गरिरहेको छ ?

कोरोना भाइरसको सम्भावित संक्रमणबारे सावधानी अपनाउन ह्यान्ड सेनिटाईजरको व्यवस्था गर्ने, राम्रोसँग हात धुन तथा पाकेको खानेकुरा मात्र खान दिन सूचना जारी गरेको छ । साथै पाहुनाहरुमा भाईरसको कुनै लक्षण देखिएमा तत्काल अस्पताल लैजाने व्यवस्था गर्न पनि होटलहरुलाई आग्रह गरेका छौं ।

५. यसले पर्यटन उद्योगमा पर्न सक्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न होटल संघले अब के गर्छ ?

यो कुरालाई मनन गरी हामी अघि बढी सकेका छौं । नेपाल सरकार, नेपाल भ्रमण वर्ष २०२०, नेपाल पर्यटन बोर्ड लगायतका विभिन्न सरोकारवाला निकायसँग हातेमालो गर्दै अगाडि बढिरहेका छौं । सकेको साथ र सहयोग गर्न हामी हरदम क्रियाशील छौं ।

Logo