चीनमा रहेका नेपालीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याइने

चीनमा रहेका नेपालीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याइने


काठमाडौं ।

चीनमा रहेका नेपालीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याउने तयारी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल फर्किनका लागि आइतबार बिहानसम्म १८० जनाले फारम भरेको र उनीहरु सबैको स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याइने जनाएको छ । मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले फारम भरेका सबैको स्वास्थ्य परीक्षण हुने बताए ।

परीक्षणका क्रममा संक्रमण देखिएकाहरुलाई चीनमै राखेर उपचार गरिने उनले जनकारी दिए । ‘त्यहाँ पनि सबैको स्वास्थ्य जाँच हुन्छ । यदि पोजेटिभ देखियो भने चीनले पठाउँदैन त्यही उपचार हुन्छ । बाँकी अन्यलाई फिर्ता गरीन्छ’, उनले भने । अहिलेसम्म सबै सुरक्षित रहेको पनि प्रवक्ता श्रेष्ठले प्रस्ट पारे । नेपाल फर्काएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिने उनले बताए । ‘क्वारेन्टाइनमा स्वस्थ मान्छेलाई राखिन्छ । उहाँहरु सबै स्वस्थ हुनुहुन्छ । आइसोलेसनमा हो संक्रमितमा राख्ने’, श्रेष्ठले भने ।

मन्त्रालयले उनीहरुलाई राख्ने ठाउँको पहिचान भइरहेको जनाएको छ । मंगलबार बेलुकीसम्म ठाउँ एकिन हुने प्रवक्ता श्रेष्ठले बताए । मन्त्रालयले तीन तहमा समिति बनाएर अध्ययन गरीरहेको बताउदै उनले फर्काइएका नेपालीलाई दुई सातासम्म क्वारेन्टाइनमा राखिने बताए । यसअघि उहानबाट फर्किएका एक जनामा संक्रमण देखिएको थियो ।

Logo