चीनमा रहेका नेपाली विद्यार्थीलाई राख्ने ठाउँ आज टुंगो लाग्ने

चीनमा रहेका नेपाली विद्यार्थीलाई राख्ने ठाउँ आज टुंगो लाग्ने


काठमाडौं ।

चीनमा रहेका नेपाली विद्यार्थीलाई तीन दिनभित्र स्वदेश फर्काइने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार स्वदेश फर्केलगत्तै उनीहरुलाई ल्याएर राख्ने सुरक्षित ठाउँको तयारी थालिएको छ ।

मंगलबार (आज) सम्म उनीहरुलाई राख्ने स्थानको टुंगो लगाइने भएको छ । पाँच जना विज्ञको टोलीले शनिबारदेखि सुरक्षाका लागि निगरानीमा राख्न सम्भावित ठाउँहरू खोजेकोमा मंगलबारसम्म टुंगो लाग्ने मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म १४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । जसमध्ये एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यस्तै, १० जनामा संक्रमण नभएको देखिएको छ । बाँकी ३ जनाको स्वास्थ्य परीक्षणको नतिजा आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘मंगलबारसम्ममा ठाँउको प्रबन्ध मिलेपछि सम्भवतः बुधबार चीनमा रहेका नेपालीलाई स्वदेश फर्काइने छ,’ उनले सोमबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भने । चीनबाट ल्याइने विद्यार्थी राख्ने ठाउँ मंगलबार बेलुकासम्म टुंगो लगाउने श्रेष्ठले बताए । ‘उनीहरुलाई राख्ने ठाउँ कहाँ उपयुक्त हुन्छ भन्ने कुरा सम्भवतः भोलि बेलुकासम्म टुंगो लाग्छ, त्यसपछि बुधबार उहाँहरुलाई ल्याउन सकिन्छ,’ उनले भने ।

मन्त्रालयले नेपाली सेनाको नवनिर्मित भवन, आर्मी ब्यारेक, सशस्त्र प्रहरी क्याम्प, सरकारका केन्द्रीय अस्पतालका हल, इचंगुनारायणमा सुकुम्बासीका लागि बनाइएको आवास, स्टाफ कलेज, भक्तपुरको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र, कीर्तिपुरस्थित आयुर्वेदिक अस्पताल परिसर, बोडेस्थित कृषि तालिम केन्द्रमध्ये एक ठाउँमा राख्ने तयारी गरेको प्रवक्ता क्षेष्ठले बताए ।

कोरोना भाइरसको संक्रमणको उत्पत्तिस्थल चीनको उहानमा रहेका नेपाली विद्यार्थीले आफूहरुलाई स्वदेश फर्काउन माग गर्दै चीनस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । तर नेपाल ल्याएर उनीहरुलाई राख्ने ठाउँको तयारी नहुँदा समस्या भएको छ ।
राजधानीबाट

Logo