काभ्रेको पाँचखालमा बीस जनालाई घाइते बनाउने चितुवा मारियो

काभ्रेको पाँचखालमा बीस जनालाई घाइते बनाउने चितुवा मारियो


पाँचखाल ।

पाँचखाल नगरपालिका–६ स्थित जैसिडिही र गणेशस्थान गाउँका २० भन्दा बढीलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ । सोमबार जैसिडिहीमा र आइतबार बेलुका गणेशस्थानका दुई जनालाई आक्रमण गरी घाइते बनाएको हो ।

चितुवाले सोमबार खेतमा काम गरिरहेका जैसिडिहीका ३० वर्षीय अर्जुन श्रेष्ठलाई आक्रमण गरेपछि सोही गाउँमा बारीमा स्याउला लिन गएकी एक महिलालगायत अन्यलाई क्रमैसँग दिउँसो आक्रमण गरेको वडाध्यक्ष रामशरण दुलालले जानकारी दिए ।

उनका अनुसार खेतबारीमा काम गरिरहेका र घरआँगनमै भएकालाई चितुवाले आक्रमण गरी ढाडमा चोट पुर्‍याउने र केहीको कान लुछेको हो । श्रेष्ठलाई उपचारार्थ टेकु अस्पताल लगिएको छ । एउटै चितुवाले मानिसलाई आक्रमण गरिरहेको हुनसक्ने दुलालले बताए । उनले घाइतेहरुको खोजी कार्य पनि भइरहेको बताए ।

यसैबीच २० भन्दा बढी मानिसलाई आक्रमण गरेपछि स्थानीयले सोमबार अपराह्न चितुवालाई मारेका छन् । क्रमैसँग जैसिडिहीका बासिन्दालाई आक्रमण गरी गम्भीर घाइते बनाउन थालेपछि स्थानीयले चितुवालाई मारेको वडाध्यक्ष दुलालले बताए ।

यसअघि भुम्लु गाउँपालिकास्थित जङ्गल आसपासका बस्तीमा केही दिनदेखि चितुवाले गोठ तथा छाप्रामा बाँधिएका बाख्रा मार्ने र खाने गरेपछि स्थानीय बासिन्दा निकै चिन्तामा रहेका छन् । भुम्लु गाउँपालिका–७ टारका हरिहर उप्रेतीले चितुवाले गत बिहीबार राति आफ्नो गोठभित्रका आठ बाख्रा मारिदिएको बताए ।

गोठको ढोका फोरेर चितुवाले एउटा पाठी आधा खाएको र अन्यलाई घाँटीबाट रगत चुसेर मारेको उनले जानकारी दिए । उनका अनुसार गत शुक्रबार राति चितुवाले स्थानीय लक्ष्मी रिजालको दुई वटा बाख्रा मारेको थियो । टार आसपासमा रहेका कुकुरलाई समेत चितुवाले मारेपछि स्थानीय बासिन्दा त्रसित रहेको उप्रेतीले बताए । उनले भने, “चितुवाले आतङ्क फैलाएपछि मानिसलाई समेत आक्रमण गर्नसक्ने भएकाले साँझदेखि घर बाहिर निस्कने गरिएको छैन ।”
रासस

Logo