नाडा प्रतिनिधि मण्डल र उद्योग मन्त्रालयवीच छलफल

नाडा प्रतिनिधि मण्डल र उद्योग मन्त्रालयवीच छलफल


काठमाडौं ।

नाडा अटोमोबाइल्स एशोसिएशनको प्रतिनिधि मण्डल तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालवीच छलफल भएको छ ।

सोमबार नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ७ सदस्यीय नाडा प्रतिनिधि मण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालसँग भेटी सवारी साधन पैठारीकर्ताहरुले आफ्नो एजेन्सी बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा समेत दर्ता गर्नु पर्ने विषयमा विस्तृत छलफल गरेको हो ।

उक्त भेटघाटका क्रममा नाडाका अध्यक्ष दुलालले विभागमा एजेन्सी दर्ता सम्बन्धमा पुराना विभिन्न ऐनका कारण एजेन्सी नविकरणमा समस्याहरु आईपरेको हुँदा सवारी साधन पैठारी गर्दा अप्ठ्यारो परेको हुनाले व्यवसायलाई सहजीकरणका लागि अनुरोध गरेका थिए । उक्त छलफलमा उपाध्यक्षद्वय करण चौधरी, आकाश गोल्छा र केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठले त्यसबारे थप स्पष्ट पारेका थिए ।

सोहि छलफलको क्रममा उद्योग वाणिज्य तथा आपूर्ति सचिव डा बैकुण्ड अर्यालले यसबारे केहि दिनभित्रै नेपाल राष्ट्र बैङ्क, बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, र भन्सार कार्यालयहरुसँग छलफल गरी व्यवसायीहरुको सहजीकरणका लागि निर्णय गरिने कुरा बताए ।

उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत नाडाका उपाध्यक्षद्वय करण चौधरी, आकाश गोल्छा महासचिव सुनिल रिजाल र केन्द्रीय कार्य समिति सदस्य अभिक ज्योति, निराकार श्रेष्ठ तथा शुभासिस थपलिया समेतको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा विभागका निर्देशकहरु समेतको उपस्थिति रहेको थियो ।

Logo