नागरिकलाई राजनीतिको महत्व बुझाउन सकिएन : रामचन्द्र पौडेल (वरिष्ठ नेता, नेपाली कांग्रेस)

नागरिकलाई राजनीतिको महत्व बुझाउन सकिएन : रामचन्द्र पौडेल (वरिष्ठ नेता, नेपाली कांग्रेस)


काठमाडौँ

रामचन्द्र पौडेल नेपाली राजनीतिमा चिनाइरहनु पर्ने नाम होइन । लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय नेता पौडेल यतिबेला आफ्नै पार्टीभित्र असन्तुष्ट नेताहरुको नेतृत्व गरिरहेका छन् । शनिबार राजधानीको एक साहित्यिक कार्यक्रममा भेटिएका नेता पौडेलसँग हामीले यसपटक राजनीति र साहित्यका बारेमा केन्द्रित रहेर संक्षिप्त कुराकानी गरेका छौं । प्रस्तुत छ नेता पौडेलसँग केन्द्रबिन्दुका वरिष्ठ उपसम्पादक ज्ञानमणि नेपाल कालोटोपीले गरेको कुराकानी :

१.एउटा राजनीतिज्ञको दृष्टिमा साहित्य के हो ?
हरेक कालखण्डका राजनीतिक विषयलाई साहित्यकारहरुले चित्रण गर्दै साहित्य लेखन गरिरहनु भएको बिगत छ । राजनीति चलायमान हुन्छ, हरेक समय परिवर्तन भइरहन्छ तर साहित्य युगौंसम्म जीवन्त भइरहन्छ । साहित्यकै माध्ययमबाट हामीले बिगतका राजनीतिक घटनाक्रमहरुको पनि जानकारी पाउने गरेका छौं । साहित्यले समाजको चित्रण गर्छ ।

२.तपाईं आफू साहित्यिक पुस्तकहरु चाहिं कति को पढ्नु हुन्छ ?
काम गराई मेरो राजनीति भएपनि मलाई साहित्य मन पर्ने विषय हो । सधैं त पढ्ने समय हुँदैन । तर समय मिलाएर सकेसम्म पढ्ने गरेको छु ।

३.साहित्यको कुन विधा बढी रुचाउनु हुन्छ ?
कथा, कविता, उपन्यास लगायतका साहित्यिक विधाहरुले मानिसहरुलाई राजनीति भन्दा बढी संवेदनशील बनाउँछन् । त्यसैले यी विषयहरु सबैले अध्ययन गर्नु पर्छ जस्तो मलाई लाग्छ । मैले पढ्ने साहित्यिक विधा पनि यीनै हुन् ।

४.नागरिकमा राजनीतिप्रति निराशा छ, यस्तो बेलामा साहित्यले उनीहरुमा कस्तो प्रभाव पार्न सक्ला ?
साहित्यले समाजलाई चेतनशील बनाउने काम गर्छ । झट्ट हेर्दा यो सामान्य नै लाग्छ तर साहित्यले मानिसलाई आर्दश, मूल्य र मान्यता प्रतिको भाव पनि जागृत गर्छ । अहिले मानिसहरुमा संवेदनशीलता हराइरहेको अवस्था छ । राजनीतिमा सक्रिय रहनेहरुलाई पनि साहित्य नभइ नहुने विषय हो । राजनीति पनि कम महत्वको विषय त होइन तर देशमा भइरहेका ठूला ठूला राजनीतिक परिवर्तनले पनि जनतामा यतिबेला निराशा उत्पन्न गराएको छ । परिवर्तनको आभास गराउन नसक्दा ठूला परिवर्तनहरुले पनि जनताको जीवनशैली फेर्न सकेन तर साहित्यप्रति जनता निराश छैनन् ।

५.राजनीतिप्रति नागरिकको निराशा चाहिं किन हो त ?
खासमा राजनीति नराम्रो होइन, तर नागरिकलाई यसको महत्व बुझाउन नसक्दा र नेपालमा राजनीति गर्नेहरुले आफ्नो अवसरवादी नीति अघि सार्ने परम्पराले गर्दा नागरिकले राजनीतिलाई हेर्ने दृष्टिकोण फरक भएको हो । नेपालमा राजनिती गर्ने मान्छेहरुले सत्तालाई नै बढी महत्व दिने गरेको देखियो । आफ्नो व्यक्तिगत स्वार्थ भन्दा देशको स्वार्थलाई महत्व दिने हो भने राजनीतिप्रति नागरिकको निराशा विस्तारै घट्दै जान्छ ।

Logo