राष्ट्रियसभामा सांसदहरुद्वारा क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभामा सांसदहरुद्वारा क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण


काठमाडौँ ।

राष्ट्रियसभाका सदस्यहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै ब्रिशेष चन्द्र लालले नेपाल र चीन सरकारबीच भएको सिमा व्यवस्थापन प्रणाली सम्बन्धी सम्झौताबारे सरकारको धारणा माग गरे । पिजन होलमा परराष्ट्र मन्त्रालयबाट परराष्ट्र मन्त्रीको हस्ताक्षरसहित जानकारीको लागि पेस गरिएको भनिदै नेपाल र चीन सरकारबीच सम्पन्न भएको सिमा व्यवस्थापन प्रणाली सम्बन्धी सम्झौता राखिएको उल्लेख गर्दे उनले कुनै पनि सिमा सम्बन्धी सम्झौता सदनलाई जानकारी दिएर मात्रै नपुग्ने तर्क गरे ।

‘सन्धि ऐन २०४७ को दफा १० अनुसार यसलाई जानकारीका लागि संसदमा पेश गरिएको भनिएको’ उल्लेख गर्दे उनले त्यसबारे सरकारको धारणा माग गरे । उनले भने “नेपालको सिमाना सम्बन्धी कुनै पनि सन्धि सम्झौता संसदलाई जानकारी दिएर मात्रै पुग्दैन । यसबारे छलफल हुनुपर्यो । र यसको अनुमोदन, सम्बोधन, स्वीकृति वा समर्थन संघीय संसदको कायम रहेको सम्पुर्ण सदस्य संख्या को दुई तिहाई बहुमतले नै हुनुपर्यो । यसबारे सम्माननिय अध्यक्ष ज्यू मार्फत नेपाल सरकारको धारणा माग गर्दछु । ”

नेपाल सरकारको असोज १७ गतेको निर्णय अनुसार असोज २६ मा नेपाल र चीन सरकारबीच सिमा व्यवस्थापन प्रणाली सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

राधेश्याम अधिकारीले दरबन्दी अनुसारको शिक्षक अभावका कारण सामुदायिक विद्यालय शिक्षाको गुणस्तर अन्त्यन्तै न्यून रहेको भन्दै त्यस तर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराए । राज्यका निर्देशक सिद्धान्त तथा दायित्व समिति अन्र्तगतको अनुगमन समितिले रौतहट जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रको अनुगमन गर्दा देखिएका विषयबारे सदनलाई जानकारी गराउदै उनले शिक्षाको गुणस्तर सुधारमा ध्यान दिनुपर्ने आवश्यकता औल्याए । वडा अध्यक्ष नै विद्यालय व्यवस्थापन समितिमा बस्ने र व्यवस्थापन समितिको सदस्य बन्नकै लागी गोलि समेत चल्ने अवस्थाले त्यसभित्रको राजनीति स्पष्ट भएको भन्दै शिक्षालाई राजनीति मुक्त गर्न आवश्यक रहेको बताए ।

सांसद बिमला राई पौडेलले काठमाडौका फिटनेस सेन्टरहरुको गुणस्तर मापन गर्न सरकारको ध्यानाकर्षण गराइन् । गत माघ १५ गते ललितपुरको सातदोबाटो बिशाल चोकमा फिट एण्ड फाईन एरोविक्स फिटनेस सेन्टरमा साउना लिन गएका हस्त गुर्जवा पुन मगर र नेत्र कुमारी मगर दम्पतिको मृत्यु भएको भन्दै च्याउ उम्रे जसरी खुलेका फिटनेस सेन्टरको तुरुन्तै अनुगमन गरि मापदण्ड अनुसार सम्बन्धीत निकायप्रति जिम्मेबार बनाउनु पर्नेमा उनले जोड दिइन् ।

मिना बुढाले रोल्पाको थवाङ गाउपालिका वडा नम्बर ३ स्थित हिमाल्य फुलबारी विद्यालयमा अंग्रेजी विषय अध्ययन गराउने शिक्षक कास्कीमा नाम निकालेर गएपछि अंग्रेजी विषयका शिक्षक रिक्त रहेको भन्दै त्यसतर्फ शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराइन् । उनले नयाँ शिक्षक करारमा राख्नका लागि पनि विभिन्न किसिमका झन्झटिलो प्रावधान रहेको भन्दै विद्यालय व्यवस्थापन समितिले करारमा शिक्षक राख्न सक्ने व्यवस्था मिलाउन आग्रह गरिन् ।

यस्तै सदस्य प्रमिला कुमारीले नागरिकता विधेयक पास गर्न ढिलासुस्ती हुँदा लाखौ जनता गैह् नागरिक भएको भन्दै नागरिकता विधेयकलाई छिटो टुंगोमा पुर्याउन आग्रह गरिन् ।

शेर बहादुर कुँवरले छाउ गोठ भत्काउने अभियानसंगै सामाजिक चेतनाको अभियान संञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सामाजिक र आर्थिक रुपान्तरण अनुसार संघीय सरकार र स्थानीय सरकारको सक्रियतामा अछाम, डोटी, बाजुरा, दैलेख र सुर्खेतमा छाउगोठ भत्काउने अभियान चलाउनु राम्रो काम भएको उल्लेख गर्दै उनले सो कार्यको निरन्तरतासँगै ती स्थानमा विद्यमान रहेका धार्मिक, सांस्कृतिक मुल्य र मान्यताबारे चेतनामुलक कार्यक्रम संञ्चालन गर्नुपर्ने आवश्यकता औल्याए । उनका अनुसार अछाम जिल्लामा अहिलेसम्म ५ हजार गोठ भत्काउने काम भएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा नै सांसद गजेन्द्र महतले छाउगोठका नाममा आफुहरुको घर भत्काएको भन्दै गृहमन्त्रालयको छाउगोठ भत्काउने कार्यको चर्को विरोध गरेका थिए ।

चक्रप्रसाद स्नेहीले डडेलधुरा आलटाल गाउँपालिकाका नेकपाका गाउपार्टी कमिटी अध्यक्ष ज्ञानेन्द्र प्रसाद जोशीलाई शुक्रबार मुकुण्डोधारी समुहले अपहरण गरी मरणासन्न हुने गरि कुटपीट गरेको र जोशीको काठमाडौस्थित टिचिङ अस्पतालमा उपचार भईरहेको भन्दै शिघ्र स्वास्थ्य लाभको कामना र सम्बन्धीत उपचारको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए । दोषीमाथि कारवाहीको साथै दिनदहाडै मान्छे कुट्ने परिस्थितिको अन्त्य गर्न उनले सरकारको ध्यानाकर्षण पनि गराए ।

Logo