वञ्चरे डाँडाको पूर्वाधार निर्माणमा ढिलाइ

वञ्चरे डाँडाको पूर्वाधार निर्माणमा ढिलाइ


काठमाडौं ।

ठेकेदारको लापर्वाहीका कारण वञ्चरे डाँडामा निर्माण भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइट निर्धारित समयमै प्रयोग गर्न नसकिने भएको छ । काठमाडौँ महानगरपालिकाले मंगलबारआयोजना गरेको सरोकारवालासँगको छलफलमा निर्माणका लागि तोकिएको समय तीन महिना मात्र बाँकी हुँदा ३० प्रतिशत मात्र काम भएको जानकारी दिइयो ।

ल्याण्डफिल्ड साइटको पूर्वाधार निर्माणमा ढिलाइ भएको भन्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नीतिगत अप्ठ्यारो भए आफूले जहाँ गएर भए पनि समाधान निकाल्ने बताए । तोकिएको समयमा निर्माण हुन नसक्नुमा दोषी को हो भन्दै प्रमुख शाक्यले तत्काल समाधानको उपाय पहिल्याउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले ल्याण्डफिल्ड साइटको निर्माण सँगसँगै फोहर उत्पादनको स्रोतमा वर्गीकरण गर्ने विधिलाई पनि सँगै प्रवद्र्धन गर्नुपर्ने धारणा राखे । शहरी विकास तथा भवन निर्माण विभागमा महानिर्देशक मणिराम गेलालले अहिलेको अवस्थालाई हेर्दा निर्धारित समयमा निर्माणको काम सम्पन्न नहुनेमा पक्का भएको जानकारी गराए । बैठकमा प्रधानमन्त्री कार्यालयका सहसचिव छवि रिजालले समयमा ल्याण्डफिल्ड साइटको पूर्वाधार तयार गर्न नसक्दा पर्यटन वर्षलाई समेत बाधा पुग्ने बताए ।

वञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न ०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । भ्याट बाहेक ३४ करोड ६८ लाख ७४ हजार ८९५ गरिएको सम्झौता भएको थियो ।

निर्माणको लागि अघिल्लो मङ्सिर १७ गतेको बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको हो । १३ वर्षदेखि सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । तेह्र वर्षअघि दुई वर्षका लागि काठमाडौँ उपत्यकाको फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।
रासस

Logo