फेरि लोडिसेडिङ हुन थालेको हो ? यस्ता छन् झ्यापझ्याप बत्ती जानुका कारणहरु

फेरि लोडिसेडिङ हुन थालेको हो ? यस्ता छन् झ्यापझ्याप बत्ती जानुका कारणहरु


काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले चार वर्षपछि लोडसेडिङलाई निरन्तरता दिने गरि बिजुली कटौती गर्न थालेको छ । यसरी निरन्तररुपमा बिजुली कटौती हुँदै जाँदा फेरि मुलुक अन्धकारतिर जान लागेको त होइन भन्ने शंका पैदा हुन थालेको छ । त्यति मात्रै नभएर चार्ज गरेपछि चल्ने ब्याट्री, डिजेलबाट चल्ने जेनेरेटर व्यवसायीहरु पनि अब आफ्नो पालो आएको हो की भन्दै सलबलाउन थालेका छन् भने यता उपत्यका र देशभरका उपभोक्ता कुना काप्चामा थन्किएका पुराना जेनेरेटर र चार्जवाला ब्याट्री तथा टर्चलाइट खोज्न थालेका छन् । यतिमात्रै नभएर घरमा जेनेरेटर नभएकाले चार्जबाट चल्ने सामग्री किन्नेहरूको संख्या पनि बढ्न थालेको छ ।

प्राधिकरणको वर्तमान नेतृत्वले घुमाउरो पाराले लोड व्यवस्थापन गर्न भन्दै विभिन्न स्थानमा विद्युत कटौतीका लागि सूचना नै प्रकाशित गरिरहेको छ । यसले गर्दा अब लोडसेडिङको तालिका पनि प्रकाशित हुने हो की भन्ने पनि चर्चा हुन थालेको छ ।

विगत चार वर्ष अघि विद्युत प्राधिकरणका तत्कालिन प्रमुख कुलमान घिसिङले लोडसेडिङको अन्त्य गरेका थिए । तर घिसिङको कार्यकाल पूरा गरेर गत भदौ २९ गतेबाट बाहिरिएका थिए । घिसिङ प्राधिकरणबाट बाहिरिएको चार महिनामै उनले गरेको प्राधिकरणको व्यवस्थापनलाई भताभुङ्ग बनाउँदै लोडसेडिङको सुरुवात गरिएको छ । घिसिङ बाहिरिएपछि दैनिक केही घण्टा बिजुली जान सुरु गरेको थियो ।

त्यसपछि विस्तारै बढाउँदै लगेर नागरिकलाई अँध्यारोमा लैजान खोजिएको देखिन्छ । अहिले प्राधिकरण व्यवस्थापनको कमजोरीका कारण देशका धेरै ठाउँमा लाइन कटौती हुन थालेको छ । त्यसैले पछिल्लो केही दिन यता विद्युत आपूर्ति अनियमित भएपछि नेपाल विद्युत प्राधिकरण वर्तमान नेतृत्वको ब्यापक आलोचना हुन थालेको छ ।

चार वर्ष प्राधिकरणको नेतृत्व सम्हालेका घिसिङले एउटा बलियो टिम बनाएका थिए । उक्त टिमले लोडसेडिङ हटाउनेदेखि गुणस्तरिय विद्युत आपूर्ति गर्ने सम्ममा मिलेर काम गरेको थियो । यसले सबैले देख्ने गरि नतिजा दिएको थियो । तर घिसिङ बाहिरिएसँगै उनको टिमलाई पनि प्राधिकरणबाट तितरबितर गरिएकाले व्यवस्थापन गर्न सकेको छैन । सरकारले एकातिर तत्काल कार्यकारी निर्देशक ल्याउन सकेन भने अर्को तिर कुलमानको टिमलाई पनि तितरबितर परेको छ । जसको परिणाम अहिले विद्युत आपूर्ति मात्रै अनियमित भएको छैन, बारम्बार लाइन जान थालेपछि सर्वसाधारणमा लोडसेडिङ फर्किने आशंका पनि बलियो बन्दै गएको छ ।

प्राधिकरणबाट बिदा हुँदा घिसिङले नेपालमा अब लोडसेडिङ इतिहास भइसक्यो, कसैले चाहेर पनि लोडसेडिङ फर्किनेवाला छैन । म नभए पनि मसँग लामो समय काम गरेको टिमले विद्युत प्रणालीलाई व्यवस्थापन गर्ने बताएका थिए । तर अहिले उनले भने भन्दा फरक हुन थालेको छ । लोडसेडिङको गतिविधि बढ्दै जाँदा सर्वसाधारणमा चिन्ता बढे पनि प्राधिकरणले भने आत्तिनु नपर्ने बताएको छ । विद्युतका पोल बनाउन तथा सार्नका लागि कहिलेकाहीँ बत्ती जानु सामान्य भएको प्राधिकरणले जनाएको छ ।

१८ घन्टे लोडसेडिङलाई २०७५ वैशाखदेखि नेपाल विद्युत् प्राधिकरणले देशलाई नै लोडसेडिङमुक्त घोषणा गरेको थियो । लोडसेडिङ अन्त्य गरेका घिसिङले अहिले लोडसेडिङ हुनुपर्ने कुनै कारण नै नभएको बताएका छन् । गत वर्ष उपत्यकामा प्रतिदिन ४ सय ५० मेगावाट विद्युत् माग थियो । यो वर्ष ३ सय ७० मात्रै माग रहेको छ । अघिल्लो वर्षको तुलनामा ७० मेगावाट माग घट्दा पनि लोडसेडिङ हुनुले विद्युत् प्राधिकरण व्यवस्थापनमा चुकेको उनको भनाइ छ । अहिले बत्ती काटिन थाले पनि फेरि लोडसेडिङमा फर्कन सम्भव नरहेको उनले बताएका छन् ।

यता नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तत्काल लोडसेडिङको कुनै सम्भावना नरहेको बताएका छन् । उनले बाहिर व्यक्त भईरहेको चिन्ता र चासोप्रति प्राधिकरणको ध्यानार्कषण भएको बताए । ‘हामी उच्च सतर्कताका साथ प्राविधिक समस्या हल गर्नका लागि तयारी अवस्थामा छौँ । लोडसेडिङको कुनै सम्भावना छैन ।’, उनले भने ।

शाक्यका अनुसार पुस १३ गते राष्ट्रिय विद्युत प्रणालीमा साँझ ६ बजेर २५ मिनेटमा १४ सय ३१ मेगावाटको लोड थियो । उक्त समयमा खिम्ती–लामोसाँघु १ सय ३२ केभी प्रशारणलाइन पूर्णक्षमतामा सञ्चालित भएको तर खिम्ती–लामोसाँघु–भक्तपुर–मातातिर्थ–हेटौँडा–ढल्केबर प्रशारण लाइन एउटै लुपमा सञ्चालित भएकोमा सोही समयमा मस्र्याङ्दी जलविद्युत केन्द्रको पिकिङ जलाशयमा पानीको सतह न्यूनतम विन्दुमा पुगेको थियो । यसरी संचालित प्रणालीलाई यथावत सूचारु राख्न त्यहाँको उत्पादन घटाउँदा भारतबाट आयात गर्ने विद्युतको मात्रा बढी भई सोही समयमा खिम्ती–लामोसाँघु प्रशारण लाइन ओभरलोड भएकाले दुई दिन विद्युत कटौती भएको उनले स्पष्ट पारेका छन् ।

राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रशारण तथा आपूर्तिमा भएको अवरोधलाई लोडसेडिङ भयो भनी नबुझ्न प्राधिकरणले आग्रह गरेको छ । शाक्यले पुस १४ गते बानेश्वरको ६७ केभी प्रशारणलाइनमा भएको अवरोधको पनि समाधान भईसकेको बताए । यस्तो समस्या यस वर्ष मात्रै आएको नभई विगतका वर्षमा पनि आउने गरेको उनले बताएका छन् ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले पनि माग र आपूर्तिको सन्तुलन कायम रहेको भन्दै लोडसेडिङको कुनै सम्भावना नरहेको बताएका छन् ।

पुराना टान्सफर्मर प्रतिस्थापन गर्ने, वितरण प्रणालीका पुराना संरचनाहरु मर्मत सम्भार गर्ने जस्ता निरोधात्मक कार्यहरु गरिरहेको भन्दै त्यसको सकारात्मक प्रभावका कारण पनि अवरोध कम हुँदै गएको उनले दाबी गरेका छन् । गत वर्षको भन्दा यय वर्ष बिजुलीको माग झण्डै १०० मेगाले बढेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । गत वर्षको यही समयमा बिजुलीको माग १ हजार ३ सय ४० मेगावाट मात्र रहेकोमा यस वर्ष माग बढेर १ हजार ४ सय ३० मेगावाट पुगेको छ ।

चिसो बढ्दै गएकाले बिजुलीको माग अझै बढ्ने अनुमान विद्युत् प्राधिकरणको छ । प्राधिकरणका आयोजनाहरुबाट ५ सय १६ मेगावाट, निजी उत्पादकहरुबाट ३ सय २० मेगावाट आपूर्ति भएको छ । यस्तै भारतबाट ५ सय ९४ मेगावाट बिजुली आयात भइरहेको पनि प्राधिकरणले जनाएको छ । यसमा लोडसेडिङ हटाउन भारतबाट आयात हुने बिजुलीको प्रमुख भूमिका रहँदै आएको पनि प्राधिकरणले जनाएको छ । गत वर्षको यही समयमा प्राधिकरणका आयोजनाबाट ५ सय ८ र निजी उत्पादन ३ सय ४ मेगावाट आपूर्ति भएको थियो । त्यसबेला भारतबाट ४९८ मेगावाट बिजुली आयात गरिएको थियो ।

गत वर्षको भन्दा यस वर्ष भारतबाट बिजुली आयात १०० मेगाले बढेको देखिएको छ तर, माग बढेको बढ्यै गर्ने र आन्तरिक उत्पादन थपिन नसक्दा माग र आपूर्तिको सन्तुलन कायम गर्न विद्युत प्राधिकरणलाई हम्मे हम्मे परेको छ । पछिल्लो समय उपत्यकासहित देशका विभिन्न स्थानमा विद्युत् कटौती भइरहँदा उपभोक्ताको गुनासो बढ्दै गएको छ भने विद्युत् प्राधिकरणले लोडसेडिङको रणनीति तय गर्दै गएको भन्दै जनआक्रोश पनि बढिरहेको छ ।

तर यता विद्युत प्राधिकरणले लोडसेडिङका विषयमा आएका समाचारको खण्डन गरेको छ । बिहीबार प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले प्रेस विज्ञप्ति जारी गर्दै लोडसेडिङ हुन लागेको हल्ला निराधार भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ– ‘केही दिनयता विभिन्न मिडिया तथा अनलाइन पत्रिकाहरुमा बत्ती झ्यापझ्याप गइरहेको, अघोषित लोडसेडिङ सुरु भएको, विद्युत आपूर्ति व्यवस्थापन गर्न नसकेको भनी प्रकाशित समाचारले नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण भएको छ । विद्युतको पोल सार्न, ट्रान्सफर्मर फेर्न, पुराना संरचनाहरु मर्मत गर्न केही स्थानको विद्युत कटौती गरि मर्मतपछि सुचारु गर्ने गरिएको छ ।’

पुस १३ र १४ गते राष्ट्रिय विद्युत प्रणालीमा केही समय आएको अवरोध प्राविधिक समस्याले भएको र हाल उक्त समस्या पनि समाधान भइसकेको प्राधिकरणले जनाएको छ ।

Logo