नवौं संशोधन व्यवसायीहरुको हितमा : निर्माण व्यवसायी महासंघ

नवौं संशोधन व्यवसायीहरुको हितमा : निर्माण व्यवसायी महासंघ


काठमाडौं ।

निर्माण व्यवसायीहरुले ‘सार्वजनिक खरिद नियमावली–२०६४’ को नवौं संशोधन व्यवसायीहरुको हितमा भएको बताएका छन् ।

निमार्ण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘सार्वजनिक खरिद नियमावली– २०६४’ को नवौं संशोधनबाट निर्माण व्यवसायीहरुको महत्वपूर्ण मागहरु पुरा भएको बताएका हुन् । महासंघका अध्यक्ष रवी सिंहले संशोधनमा व्यवसायीहरुको माग सम्बोधन भएको भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताए । सरकारले गत मंसिर १४ गते अलपत्र भएका आयोजनाको बाँकी काम सम्पन्न गर्न थप एक बर्ष समय दिने र बैंक क्रेडिट लाईनको समस्या समाधान हुने गरी सार्वजनिक खरिद नियमावलीको नवौं संशोधन राजपत्रमा प्रकाशित गरेको थियो । सरकारको यस कदमले रुग्ण आयोजनाहरुको बाँकी काम सम्पन्न गर्ने जिम्मा पाएका व्यवसायीहरुले काम सुरु गर्न सक्ने अध्यक्ष सिंहले बताए ।

महासंघका अध्यक्ष सिंहले व्यवसायीहरुलाई यथाशिघ्र काममा नफर्कने र कार्यतालिका अनुसार काम सम्पन्न गर्न नसक्नेलाई महासंघ आफैंले कारबाही गर्न सिफारीस गर्ने चेतावनी पनि दिए । उनले महासंघले सरकारसँग गरेको प्रतिवद्धता अनुसार ठेक्का समयमै सम्पन्न गर्न नसके सरकारले ठेक्का तोडी धरौटी समेत जफत गर्न सक्ने कानूनी व्यवस्था रहेको बताउँदै सजग भएर काम गर्न आग्रह गरे । महासंघका अनुसार देशभर करिब २२ सय परियोजनाहरुमा सार्वजनिक खरिद ऐनका कारण म्याथ थप हुन नसक्दा निर्माण व्यवसायीहरुले काम गर्न सकेका थिएनन् । महासघंले यसअघि २५ बुँदे माग सहित आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । नवौं संशोधनबाट महत्वपूर्ण माग सम्बोधन भएपनि केही माग अझै सम्बोधन नभएको महासंघले जनाएको छ ।

Logo