अंग्रेजी नयाँ वर्ष मनाउन हुने, राष्ट्रिय टोपी दिवस मनाउन किन नहुने ?

अंग्रेजी नयाँ वर्ष मनाउन हुने, राष्ट्रिय टोपी दिवस मनाउन किन नहुने ?


  • सम्झना पौडेल

टोपी टाउको ढाक्ने गरी लगाउने कपडा वा टाउकाको पहिरन हो । यो शिर छोप्न, त्यसको शोभा बढाउन वा रक्षा गर्नाका निम्ति चाउलो टोपीको घेरामाथिको भाग वा चक्का र घेरा हाली सिइएको वस्त्र हो । टोपी पुरुषहरूले लगाउँछन् ।

नेपालीले प्राचीन कालदेखि टोपी लगाउने गरेको पाइन्छ । नेपाली टोपी नेपालीहरूको राष्ट्रिय पोशाक हो । टोपी मुख्य रूपले नेपालको पहाडी भू–भागमा बसोबास गर्ने प्रायः सबैले परम्परागत रूपमा लगाउने गर्छन् ।

टोपीका कपडा घरेलु तानबाट बुनिन्छ । भक्तपुरमा कालो टोपी बनाइन्छ, जसलाई भादगाउँले टोपी भनिन्छ । पाल्पा, पोखरा र तेह्रथुममा ढाका टोपी बुनिन्छ । साधारण कपडाबाट पनि टोपी सिउने गरिन्छ । टोपीलाई शिरपोस पनि भनिन्छ । यस्तै ढाका टोपी ढाकाको कपडाबाट बनेको पहिरन हो ।

ढाका टोपी घरेलु तानमा हातले बुनेको कपडाबाट बनाइएको हुन्छ । प्रायः दौरा सुरुवालको साथमा ढाका टोपी लगाउने गरिन्छ । ढाका टोपीले नेपाली जातिको पहिचान जनाउँछ । पाल्पाली ढाका टोपीलाई देशकै उत्कृष्ट ढाका टोपी मानिन्छ ।

मेरो टोपी कैलासको शिरजस्तो, हिमाली भीरजस्तो
कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने
नेपाली वीरजस्तो नेपाली धीरजस्तो
मेरो टोपीभित्र मेरो बहिनीको मायाको बास छ
अहिलेसम्म भोगेको मैले मेरै घाम छाँयाको बास छ
मेरो टोपी मैला होइन यही माटोको टीका लागेको
मेरो टोपी गाउँलेको शिरमाथि मेरो टोपी लाहुरेको शिरमाथि
ठूलो सानो जान्दैन यो भेदभाव मान्दैन यो मेरो टोपी
सुहाइदिन्छ सबै सबै नेपाली शिरमाथि
धावा धावा अखडाभित्र मेरो टोपी लड्दै थियो
सगरमाथा उँभो पनि मेरो टोपी चढ्दै थियो
मेरो टोपी खाज्दै गएँ सागरदेखि सगरसम्म
जहाँ पनि जहिले पनि यो त अधि बढ्दै थियो
मेरो टोपी हितैको साथीजस्तो, आमाको छातीजस्तो
दुःखसुखमा काम लाग्ने, नेपालीको नाम राख्ने

मेरो टोपी आफ्नो सन्तान चिनाउने जन्मैको पातीजस्तो हो माथिका यी गीतका हरफहरू चर्चित गायका गोपाल योन्जनले गाउनुभएको हो । म नेपाली, तपाईं नेपाली, ऊ नेपाली र हामी सबै नेपाली नेपालीको पहिचान नेपालीको गौरव अनि हामी सबैको शिरमा लगाउने टोपी, नेपाली टोपी । जब जब टोपीको कुरा उठ्छ सम्झन्छु इतिहासलाई अनि वीर नेपालीलाई । वास्तवमा राष्ट्रियता झल्काउने नेपाली ढाका टोपीको महत्व देश तथा विदेशमा धेरै छ ।

नेपाली र नेपाली मूलका नागरिक भएका सबै देश र स्थानहरूमा नेपालीपनको निरन्तर खोजी तथा त्यसको संरक्षण र प्रवर्धन भइरहेको अहिलेको अवस्थामा समग्र नेपालीहरूको साझा र मौलिक पहिचानको चिह्न नेपाली टोपी रहेको छ ।

हाम्रो मान, शान र पहिचान नेपाली टोपी हो । यसको सम्मान अब हामी सबैले गर्न जरुरी छ । विदेशमा गएर टाइसुटमा सजिएका युवाहरू र स्वदेशमा रहेर पश्चिमा संस्कृतिमा रमाउँदै तिरमिरे टोपीमा रमाउनेहरूले अब नेपालीको पहिचानलाई जोगाउनु पर्ने बेला आएको छ ।

जनवरी १ का दिन नेपाली टोपी दिवस मनाइन्छ । सदा झै यो वर्ष पनि जनवरी १ लाई नेपाली पोशाक लगाउने दिनका रूपमा मनाइने कुरालाई आजभोलि सामाजिक सञ्जालहरूमा निकै महत्वका साथमा हेरिएको छ ।

राष्ट्रिय पोशाकको प्रयोग गरी राष्ट्रियपन झल्काउन र यसको जगेर्ना गर्नका लागि भन्दै १ जनवरीलाई नेपाली पोशाक लगाउने दिनका रूपमा मनाउन थालिएको अभियानकर्ताहरूले बताएका छन् । सो दिन नेपाली राष्ट्रियता झल्काउने पोशाक लगाएर अभियानमा समर्थन जनाउन र राष्ट्रियताका लागि केही ऊर्जा प्रदान गर्न सबैमा अभियानकर्ताहरूले आग्रह पनि गरेका छन् । वर्षको एकदिन राष्ट्रिय पोशाक लगाएर सामाजिक संजालमा फोटो अपलोड गर्दैमा राष्ट्रियता नजोगिए पनि राष्ट्रियता संकटमा पर्न थालेको वर्तमान अवस्थामा यसले केही मात्रामा भए पनि टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

यो अभियानमा देश–विदेश र गाउँ सहर जो जहाँ भए पनि सक्दो सहयोग गर्दै अभियान चलाउन आग्रह समेत गरिएको छ । सम्भव भएसम्म सधै नेपाली पोशाकमा सजिऔँ, सम्भव नभए हरेक वर्ष जनवरी १ का दिन नेपाली पोशाक लगाऔँ भन्दै सोसियल मिडियामार्फत नेपाली पोशाकको प्रचार–प्रसार गर्न समेत आग्रह गरिएको छ ।

नयाँ वर्षको उत्सव हुने र त्यस अवसरमा नेपालीपनको प्रयोग गर्न र नेपालका नेपालीहरूमा समेत उक्त दिनमा पर्वजस्तो उल्लासमय वातावरण हुने हुनाले उक्त दिनमा नेपाली टोपी लगाएर नेपाली टोपी दिवस २०१४ जनवरी १ बाट संसारभर मनाउन शुरु गरिएको हो ।

यसले अन्तर्राष्ट्रिय रूपमा नेपालीपनको प्रवर्धन हुने र देशभित्र पनि टोपी संस्कारलाई थप प्रवर्धन र प्रसार दिन मद्दत गर्दछ । विगतका वर्षहरूमा पनि संसारभरबाट भएको सहभागिता र संचार माध्यमहरूबाट पाएको सद्भावना यसपटक पनि प्राप्त हुने हुने कुरामा कुनै दुईमत छैन ।

गत वर्ष जस्तै यसपालि पनि १ जनवरी २०१९ का दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रूपले मनाउन आआफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाऔं, फोटो खिचौं अनि नेपाली टोपी दिवसको फेसबुकमा अपलोड गरौँ भन्ने नारा अभियानकर्ताहरूले बोकेका छन् ।

जनवरी १ मा अंग्रेजी पात्रोको चलन भएका देश र स्थानहरूमा नयाँ वर्षको उत्सव हुने र त्यस अवसरमा नेपालीपनको प्रयोग गर्न र नेपालका नेपालीहरूमा समेत उक्त दिनमा पर्वजस्तो उल्लासमय वातावरण हुने हुनाले उक्त दिनमा नेपाली टोपी लगाएर जनवरी १ लाई अझै विशेष बनाउन सकिन्छ भन्ने अवधारणा रहेको पाइन्छ ।

यसअघिका टोपी दिवसको अवसर पारेर सयौं पुरुषले शिरमा नेपाली ढाका टोपी पहिरिएका थिए । उनीहरूले ठाउँठाउँमा र्‍याली निकालेका थिए । प्रत्यक्षदर्शीले कुनै आन्दोलनको नारावाजी भएको महसुस गरेका थिए । तर, शिष्ट तरिकाले लाइनमा बसेका र सबैका शिरमा नेपाली टोपी देख्दा कुनै चेतनामूलक र्‍याली भएको अड्कल काटेर उनीहरूमध्ये धेरैजना र्‍यालीमा सहभागी भएका थिए ।

जानकारका अनुसार यो दिवस मुलुककै पहिलो दिवसका रूपमा मनाइएको छ । अन्तर्राष्ट्रिय रूपमा नेपालीपन प्रवर्द्धन गर्न र देशभित्र पनि टोपी संस्कार विकास गर्न अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन लागिएको आयोजकहरू बताउँछन् ।

नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश र स्थानमा नेपालीपनको निरन्तर खोजी तथा त्यसको संरक्षण र प्रवर्धन भइरहेको अहिलेको अवस्थामा समग्र नेपालीको साझा र मौलिक पहिचानको चिह्न नेपाली टोपी रहेको छ । शताब्दी औंदेखि प्रयोग भइरहेको नेपाली टोपी प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले अभियान थालनी गरिएको हो ।

नेपाली टोपीको मौलिक महत्व छ । तसर्थ राजधानी लगायत देशैभरि नेपाली टोपीको प्रदर्शन गरी टोपी दिवस मनाउने परम्परा नै बसेको छ । विगतका वर्षहरूमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिकमा नेपाली भादगाउँले टोपी पहिराउँदै नेपाली टोपी दिवस मनाइएको थियो ।

हिमाल, पहाड र तराईको सांकेतिक प्रतिनिधित्व गर्ने पोशाकका रूपमा टोपीलाई परिभाषित गरिएको पाइन्छ । नेपाली टोपी हाम्रो शिरमा रहँदा मात्र हामी नेपाली भएको पहिचान हुने धेरैको भनाइ छ । तसर्थ सबै नेपालीले नेपाली टोपीको महत्व बुझ्नु जरुरी छ । जनवरी एकलाई नेपालीहरूले अंग्रेजी नयाँ वर्षको दिनभन्दा बढी टोपी दिवसका रूपमा मनाउन थाल्ने हो भने यसले नेपाल र नेपालीको पहिचान फैलाउन अवश्य पनि मद्दत पुग्नेछ ।

Logo