चीनबाट नेपालले बढी भन्दा बढी लाभ लिन सक्नु पर्ने काँग्रेस नेता महतको भनाई

चीनबाट नेपालले बढी भन्दा बढी लाभ लिन सक्नु पर्ने काँग्रेस नेता महतको भनाई


काठमाडौं ।

नेपाली काँग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले चिनियाँ सरकारको बिआरआइ आयोजनाबाट बढी भन्दा बढी लाभ लिने योजनाहरु हामीले बनाउनु पर्ने बताएका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा डा.महतले भने–बिआरआई विशाल आयोजना हो, यसबाट नेपाल पनि बढीभन्दा बढी लाभान्वित हुनुपर्छ र नेपालको आफ्नो आवश्यकता बमोजिमको मोडालिटी बनाएर लाभ लिने हामीले नै हो । पूर्वमन्त्री डा.महतले नेपालमा बिआरआइ भनेको रेल र सडक मात्र हो भन्ने बुझाई रहेको बताउँदै यो मानसिकताबाट पर गएर हामीले यस आयोजनामार्फत बढी भन्दा बढी लगानी भित्र्याउनु पर्ने बताए ।

हाम्रो अहिलेको पहिलो प्राथमिकता भनेको चीनबाट नेपालको कनेन्टिभिटीमा लगानी हो, उनले भने । हामीलाई रेल पनि आवश्यक हो तर पनि अहिले नै रेल आयोजना लगानीका हिसाबले त्यति सान्दर्भिक नरहेकोले सडक सञ्जाल नै अहिलेको हाम्रो पहिलो आवश्यकता भएको महतले बताए ।

यस्तै राष्ट्रिय आवश्यकताको पहिचान गरी यस आयोजना अन्तर्गत पर्ने लगानी, व्यापार, कनेक्टिभिटीजस्ता क्षेत्रमा नेपाल सरकारले योजना बनाइ फाइदा लिन सक्नुपर्ने उनले बताए ।

उनले आफू परराष्ट्रमन्त्री भएको बेलामा यस आयोजनामा हस्ताक्षर गरेको स्मरण गर्दै भने– उक्त आयोजनाको ड्राफ्ट चीन सरकारले हामीलाई पठायो, हामीले पनि नेपालको आफ्नो स्वार्थ, राष्ट्रिय आवश्यकता र प्राथमिकताको पहिचान गरेर चीनलाई संशोधन नोट पठायौँ र चीनलाई यस विषयमा ‘कन्भिन्स’ गरेपछि अनि सो आयोजनामा हस्ताक्षर गरिएको बताए ।

यस आयोजनालाई नेपालले लाभ लिन सक्ने बनाउन र हाम्रो आफ्नो आवश्यकताको बारेमा राख्न आफूले उक्त आयोजनाको ड्राफ्टमा निकै मेहनेत गरेर काम गरेको उनले बताए । डा.महतले भने– वर्तमान सरकारले बिआरआइबाट के लाभ लिने भन्ने विषयमा नेपालको दीर्घकालीन हितमा हुनेगरी चाँडै योजना बनाओस र यसबाट नेपालमा बढी भन्दा बढी लगानी भित्र्याओस् ।

चीनसँगको नेपाली काँग्रेसको सम्बन्ध राम्रो रहेको उनले बताए । उनले भने– यो कुरा विपी कोइरालाले उतिबेलै बुझ्नुभएको थियो र चीनसँग त्यस समयमै राम्रो सम्बन्ध राख्नुभएको थियो ।

Logo