‘प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा बाध्यता हाे’ : प्रधानमन्त्री (भिडियाेसहित)

‘प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा बाध्यता हाे’ : प्रधानमन्त्री (भिडियाेसहित)


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझ्याएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफू पक्षका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद भित्रको प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझ्याएको मात्रै भएको बताएका हुन् । प्रचण्ड–माधव पक्षले प्रतिगमनकारी क्रियाकलाप गरि प्रतिगमनको तयारी गरिरहेकाले त्यसलाई रोक्न प्रतिनिधि सभा विघटन गरेको पनि बताए ।

उनले भने, ‘उहाँहरु प्रतिगमनकारी क्रियाकलाप गरिरहनु भएको थियो र प्रतिगमन तर्फको यात्रा गरिरहनु भएको थियो । खास प्रतिगमनको तयारी गरिरहनु भएको थियो । हामीले प्रतिगमन रोक्नु थियो । त्यसलाई ब्रेक लगाउनु थियो । आन्दोलनलाई भिरबाट तल खसाल्न खोज्नु भएको थियो । त्यसलाई रोक्नु थियो । हामीले स्टेरिङ्ग सोझ्याउनु थियो । हामीले स्टेरिङ्ग सोझ्याएका हौं ।’

प्रधानमन्त्री ओलीले पार्टीलाई प्राप्त भएको दुई तिहाईलाई फुटाएर विभिन्न तत्वहरुसँग भित्री साँठगाँठ गरेर जोडजाम गरेको पुतली सरकार बनाउने प्रयास गरिएको समेत बताए । दुई तिहाईको सरकार ढाल्ने, पार्टीको एकता भताभुङ्ग पार्ने र विभिन्न रंगीविरंगी तत्वहरु जोडेर सरकार बनाउने र हर्स ट्रेडिङको खेल सुरु गर्ने र सधैं अस्थिरता गर्ने प्रयासमा प्रचण्ड–माधव पक्ष लागेको बताए । देशमा जनताको इच्छा अनुसारको काम गर्ने र जनतालाई माया गर्ने सरकार चाहिएको हुनाले संसद विघटन गरिएको पनि बताए । प्रधानमन्त्री ओलीले सभामुखले तीनवटा अधिवेशन अगाडि सरकारले राखेका प्रस्ताव प्रस्तुत नगरिदिएको र तीन वर्ष देखिका विधेयक समितिमा अडकाउने काम गरेको समेत बताए।

सरकारलाई असफल देखाउन तीन वर्षदेखिका विधेयकलाई समितिमा रोकेर राखिएको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘संसदमा सरकारले निर्णयका लागि पेश गरेका प्रस्तावहरु प्रस्तुत हुँदैनन् । सभामुखले तीनवटा अधिवेशन भए, तीनवटा अधिवेशन अगाडि सरकारले राखेका प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदैनन् । तीन वर्ष अगाडि देखि राखेका प्रस्तुत गरेका विधेयक समितिमा लगेर अल्झाइदिएको छ अल्झाइदिएको छ ।

समितिबाट अगाडि बढ्दैन । किन भने सरकारलाई असफल देखाउन । त्यस प्रकारको स्थितिबाट देशलाई अगाडि बढाउनका लागि लोकतान्त्रिक विधिबाट देशलाई अगाडि बढाउनका लागि अस्वस्थ षडयन्त्रको चक्रव्युहमा देशलाई फस्न नदिनका लागि यो प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको घोषणा गर्नु परेको हो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुनर्स्थापना गर्न सम्भव नभएको पनि बताए । ६४ प्रतिशत समर्थन रहेको दलको नेताले सरकार चलाउन्न भनेपछि ताजा जनादेश चाहियो भनेर निर्वाचन घोषणा गरिसकेपछि प्रतिनिधि सभा पुनर्स्थापना हुनै नसक्ने बताए। बहुमत प्राप्त सरकार प्रमुखलाई संसद विघटन गर्ने अधिकार संविधानले दिएको पनि बताए ।

Logo