रसुवामा चिसोको असर : निमोनिया र खोकीका विरामी बढे

रसुवामा चिसोको असर : निमोनिया र खोकीका विरामी बढे


रसुवा ।

रातको समयमा अत्यधिक तुषारो र धाराको पानीसमेत जमेर बरफ बन्न थालेपछि त्यसको प्रत्यक्ष असर वृद्ध र बालबालिकामा देखा पर्न थालेको छ । ८३ वर्षीय रसुवाका वरिष्ठ समाजसेवी दावाफिञ्जो तामाङका अनुसार चिसोका कारण बालबालिकालाई निमोनिया र ज्येष्ठ नागरिकलाई खोकीको समस्या देखापर्न थालेको छ ।

चिसोकै कारण रूघाखोकीका साथै छुटफुटरूपले घाँटीमा टन्सिल हुने समस्यासमेत देखा पर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । चिसोको असरबाट निमोनिया एवं दमखोकीका बिरामी दैनिक सरदर १५ जना उपचारार्थ आउने गरेको रसुवा अस्पतालका प्रमुख डा अनिलकुमार खरेलले बताए ।

चिसो यामभर बालबालिका र ज्येष्ठ नागरिकलाई कम नुहाउने, नुहाउनै परेमा हल्का तातोपानीले नुहाइ तेलको मालिस गर्ने, तातो/तातो खुवाउने, सिरक वा कम्बल ओडाएर घरभित्रै राख्ने र आगो ताप्न परेमा हिटर वा कोइलाको तातो मात्र प्रयोग गर्न सुझाव दिँदै डाक्टर खरेलले दाउरा बालेर आगो नताप्न सुझाव दिए । डा खरेलका अनुसार चिसोको असरले निमोनिया, रूघाखोकी लागि राखेको अवस्थामा दाउरा बाल्दा धुवाँको असरले थप समस्या बनाउँछ ।

मदिरा तथा सुर्तीजन्य वस्तु प्रयोग नगर्न, समय समयमा तातो खाना तथा खाजा खुवाउने, हातमा पञ्जा, शिरमा कानेटोपी घाँटीमा मखुलर र शरीरमा बाक्लो खाले लुगा उनीको ट्राउजर तथा जुत्ता लगाउनसमेत सबै दाजुभाइ दिदीबहिनीसमक्ष आग्रह गरिएकोसमेत चिकित्सकले बताएका छन् ।

कुनै पनि रोग लाग्दा साथ स्वास्थ्य संस्था वा अस्पताल जाने बानीको विकास गर्न जिल्लावासीलाई अग्रह गर्दै डा खरेलले रसुवा अस्पतालमा भिडियो एक्स–रेबाट पेटको परीक्षण कार्य शुरू भइसकेको र जिल्लाभित्र सात जना चिकित्सकसमेत कार्यरत रहेको जानकारी दिए ।

प्रत्येक नागरिकलाई प्रभावकारी उपचार सेवा प्रदान गर्ने वर्तमान सरकारको नीति अनुरूप क्रमिकरूपले जिल्ला अस्पतालको सुदृढीकरण अन्तर्गत गत हप्तादेखि रसुवामा पहिलोपटक भिडियो एक्स–रे सेवा सञ्चालनमा आएको रसुवा अस्पतालले जनाएको छ । पेट दुख्नासाथ काठमाडौँ जानुपर्ने अवस्थामा रसुवा अस्पतालले सञ्चालन गरेको भिडियो एक्स–रेले स्थानीयस्तरमै सेवा दिन थालेपछि जिल्लावासीमाझ खुशी छाएको नागरिक समाज अध्यक्ष बाबुलाल तामाङले बताए ।

यस्तै स्थानीय अस्पतालमा सबैखाले उपचार सेवा प्रदान गर्ने नीति अनुरूप एक वर्षदेखि १४ वर्षसम्मका जटिल प्रकृतिका बालबालिकाका लागि छुट्टै विशेष सघन उपचारकक्ष र अन्यका लागि भेन्टिलेटरबाहेकको सघन उपचार कक्षसमेत सञ्चालनको तयारी भइरहेकोे अस्पतालले जनाएको छ ।

समुन्द्री सतहदेखि एक हजार ९०० मिटर भन्दा माथिका भू–भागमा पानी जम्न थालेको पाइएकाले लुगा धुँदा वा धुलाउन लगाउँदा तातोपानी मात्र प्रयोग गर्न/गराउनसमेत चिकित्सकले सुझाव दिएका छन् । यस्तै हिमाली भेकमा हिमपात र सेताम्बे तुसारोले पशुको चरण क्षेत्र प्रभावित बनाएपछि बेंशीका तातो स्थानमा चौपाय सार्ने काम भइसकेको चौँरीपालक कृषकले बताएका छन् ।
रासस

Logo