नेकपामा सभामुख पेचिलो बन्दै

नेकपामा सभामुख पेचिलो बन्दै


काठमाडौं ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं नफर्केपछि सत्तासीन नेकपाले बिहीबार सभामुख उम्मेदवार टुंगो लगाउन सकेन । नेकपाभित्र पूर्वएमालेबाट कि पूर्वमाओवादीबाट सभामुख बनाउने भन्ने हानथाप छ ।

दाहालमाथि पूर्वमाओवादीबाट सभामुख लिन दबाब परे पनि प्रधानमन्त्री केपी ओली पक्षधर नेताहरू भने पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउनुपर्ने पक्षमा छन् । संसदीय प्रक्रिया जानेको, सरकारसँग समन्वय गर्न सक्ने र कानुन तथा संविधानमा जानकार भएकाले नेम्वाङलाई सभामुख बनाउनुपर्ने अडान ओलीको छ।

चितवन पुगेका दाहाल बिहीबार काठमाडौं फर्कने कार्यक्रम थियो । दाहाल फर्के लगत्तै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीसँग छलफल गरेर नेकपाले सभामुख उम्मेदवार टुंगो लगाउने नेताहरूले बताएका थिए। तर बिहीबार दिउँसो साढे तीन बजे काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यक्रम दाहालले एकाएक रद्द गरे। दाहाल शुक्रबार फर्केपछि सभामुखबारे निर्णायक छलफल हुने र सचिवालय बैठकबाट अनुमोदन गरिने नेताहरू बताउँछन्।

दाहाल चितवनमै रहेका बेला पूर्वमाओवादीका एक दर्जन बढी नेताहरूले टेलिफोन गरेर ‘सभामुखबारे निर्णय के हो ? शक्ति सन्तुलनका लागि सभामुखमा पूर्वमाओवादीको कोटा छोड्न नहुने’ सुझाव दिएको स्रोतले बतायो। ‘हाम्रो अडान कायमै छ। टुंगो लागेको छैन’ भन्दै दाहालले नेताहरूलाई जबाफ फर्काएको दाहालको सचिवालयका एक सदस्यले बताए।

पूर्वमाओवादीबाट सभामुख बनेका कृष्णबहादुर महराले यौन दुव्र्यवहारको आरोप खेपेपछि राजीनामा दिएका थिए। राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्ष पूर्वएमालेले लिएका कारण सभामुख पूर्वमाओवादीले लिनुपर्ने दाहाल निकट एक नेताले बताए।

‘पार्टी एकताको काम संक्रमणकालीन अवस्थामा रहेको र एकतामा पूर्वएमाले र पूर्वमाओवादी भनेर भागबण्डा गर्ने गरिएका कारण हामीले नै सभामुख पद पाउनुपर्छ,’ दाहाल निकट एक स्थायी समिति सदस्यले भने।
अन्नपूर्णबाट

Logo