समाजवादी सरकार बाहिर : रहेन दुईतिहाइको शक्ति

समाजवादी सरकार बाहिर : रहेन दुईतिहाइको शक्ति


काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारबाट समाजवादी पार्टी बाहिरिएको छ। संसदमा दुईतिहाइ समर्थन रहेको केपी ओली नेतृत्वको सरकार समाजवादी पार्टी फिर्ता भएसँगै सामान्य बहुमतमा झरेको छ। प्रतिनिधिसभामा समाजवादी पार्टीका १७ जना छन् । दुईतिहाइ पुग्न एक सय ८४ जना सांसद आवश्यक पर्छ। नेकपासँग एक सय ७४ सांसद छन्। समाजवादी पार्टी १९ महिना अघि सरकारमा सहभागी भएको थियो।

संविधान संशोधनसहित दुईबुँदे सहमति गरेर सरकारमा सहभागी भए पनि त्यसमा नेकपा तयार नभएको भन्दै समाजवादी पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्रीबाट राजीनामा गरेका छन्। उनीसँगै सो दलबाट सरकारमा सहभागी मन्त्री इस्तिायक राईले पनि राजीनामा गरेका छन्।

उपप्रधानसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका यादवलाई मंसिर ४ गते प्रधानमन्त्रीले कानुन मन्त्रालयमा सरुवा गरेका थिए। त्यसबाट असन्तुष्ट यादवले सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनको प्रस्ताव लगेका थिए। प्रस्ताव सुनेर प्रधानमन्त्री ओली आक्रोशित भएका थिए। संविधान संशोधन प्रस्ताव सहमतिमा मात्र ल्याउनु पर्नेमा ठाडो प्रस्ताव ल्याएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाएका थिए। त्यसपछि केही नबोली बैठकबाट फर्केका यादवले मंगलबार संसदीय दलको बैठक राखेर सरकारबाट बाहिरिने निर्णय लिएका थिए।

त्यसलगत्तै यादवले आफ्ना सहयोगी महेश चौरसियामार्फत प्रधानमन्त्री ओलीसमक्ष राजीनामापत्र बुझाएका थिए। चौरसियाले प्रधानमन्त्रीलाई भेट्न भने पाएनन्। ‘राजीनामापत्र प्रधानमन्त्रीलाई नै दिन उहाँ (यादव) ले भन्नुभएको थियो,’ चौरसियाले भने, ‘तर प्रधानमन्त्रीसँग भेट नपाएपछि उहाँको सचिवालयमा दर्ता गराएर फर्कें।’ सहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालेका राईको राजीनामापत्र भने उनका सहयोगी दिनेश पाण्डेले प्रधानमन्त्री कार्यालयमा दर्ता गराएका थिए।

संसदीय दलको बैठकमा यादवले संविधान संशोधनमा सरकारले चासो नेदखाएको र दुईबुँदे सहमति उल्लंघन गरेकाले पार्टी सरकारबाट बाहिरिएको बताएका थिए । प्रधानमन्त्रीलाई बुझाएको राजीनामापत्रमा यादवले लेखेका छन्, ‘२०७६ पुस ७ गते बसेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधानविज्ञ सम्मिलित विज्ञ सुझाव समिति गठन गर्ने प्रस्ताव उपप्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको हैसियतबाट मैले प्रस्तुत गरेकोमा उक्त प्रस्तावलाई अस्वीकार गरी दुईबुँदे सहमतिबाट सरकार पछाडि हटेको तथा सहमतिलाई एकतर्फी रूपमा तोडेको प्रस्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुनेगरी राजीनामा बुझाएको छु।’
नागरिकबाट

Logo