नेपालमा सवारी दुर्घटनाको डरलाग्दो अवस्था

नेपालमा सवारी दुर्घटनाको डरलाग्दो अवस्था


दोलखाको कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको रिजर्भ बस लामोसाँघु जिरी सडकको ६ किलो भन्ने स्थानमा दुर्घटना हुँदा आइतबार (मंसिर २९ गते) १५ जनाको मृत्यु भयो । दुर्घटनामा १८ जना घाइते भए । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तीर्थाटनबाट फर्कँदै गरेको उक्त यात्रुबस लामोसाँघु–जिरी सडकखण्डस्थित सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ को ६ किलो मोडमा दुर्घटना भएको हो । बसको ब्रेक फेल भएपछि दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

गत असोज २४ गते सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिकाको भोटसिपामा बस दुर्घटना हुँदा १२ जना यात्रीको निधन भयो । ८० जनाभन्दा बढी घाइते भए । कात्तिक १५ गते पनि सिन्धुपाल्चोकबाट काठमाडौंका लागि छुटेको बस जर्सिङ्गपौवामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो । कात्तिक १७ गते सिन्धुपाल्चोककै सुकुटेमा भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भयो भने ५२ जना घाइते भए । सोही दिन म्याग्दी र कैलालीमा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गयो । कात्तिक १५ र १६ गते देशभर डेढ दर्जन बढी सवारी दुर्घटना भए । जसमा १८ जनाको मृत्यु भयो भने ११३ जना घाइते भए । जसमा पूर्वसांसद रामलखन महतोको समेत निधन भयो ।

माथि उल्लेखित प्रतिनिधि घटना मात्र हुन् । नेपालको भौगोलिक अवस्था सडक निर्माणको बाधक रहँदा रहँदै पनि यसमा पछिल्लो एकदशक यता केही उल्लेख्य कार्यहरू भएका छन् । विकास निर्माणको लागि पहिलो खुड्किलो भनेकै सडक यातायात हो भन्ने कुरालाई आत्मसात् गर्दै सरकारले यसका लागि प्रयास गरेकै हो । यसै क्रममा सन् २०१७ सम्ममा देशका सबै जिल्ला र सदरमुकामहरूमा सडकसञ्जाल जोड्ने सरकारको महत्वाकांक्षी योजना थियो, यद्यपि अहिलेसम्म पूरा हुन बाँकी नै छ ।

हालसम्मको स्थितिमा डोल्पा जिल्लाको दुने र हुम्ला जिल्लाको सदरमुकाम सिमीकोट बाहेक अन्य ७५ जिल्ला सदरमुकामहरू सडक सञ्जालमा जोडिसकिएका छन् । ती जिल्लाहरूमा पनि सडकको ट्रयाक भने खोलिसकिएको र अबको केही महिनाभित्रैमा मोटर पुर्‍याउने लक्ष्यसहित काम भइरहेको बताइएको छ । विगत ५ वर्षदेखि काम हुदै आइरहेको डोल्पामा सडक पुर्‍याउन ९३ किलोमिटर निर्माण सकिएको छ । यहाँ बस संचालन गर्न सकिने अवस्था छ भने हुम्लाका लागि २ सय ३८ किमी सडक मध्ये ५८ किलोमीटर मात्रै बाँकी छ । यी दुवै क्षेत्रमा नेपाली सेनाले कामको जिम्मा लिएको छ ।

देशमा अहिलेसम्म भएका सडक निर्माणलाई सर्सती हेर्ने हो भने कूल ५२ हजार ८८३ किलोमिटर सडक निर्माण गरिएको छ । देशका साबिकका ४१८ गाविसमा अहिलेसम्म मोटरबाटो पुगेको छैन । पछिल्लो तथ्यांक अनुसार देशका ७५३ स्थानीय तहमध्ये ३६८ तहको केन्द्रसम्म बाटो नपुगेको अवस्था छ । सरकारले आगामी ४ वर्षसम्ममा सबै स्थानीय तहहरूमा कालोपत्रे सडक पुर्याउने लक्ष्य लिएको छ । हाल निर्माण गरिएको कूल सडकमध्ये ७३ प्रतिशत सडक अहिलेसम्म पनि धुलाम्मे सडककै रूपमा संचालित छन् । जहाँ वर्षको ५ महिना मात्र सवारी साधन गुड्न सक्ने अवस्था छ । २४ प्रतिशत सडकहरू ग्राभेल गरिएका छन् भने बाँकी ३ प्रतिशत सडक मात्र पक्की सडकका रूपमा निर्माण भएका छन् । यस्तो अवस्थामा सरकारको लक्ष्य कति पूरा होला हेर्न बाँकी नै छ ।

अवको १ वर्षभित्रैमा सबै जिल्ला सदरमुकामहरूमा सडक सञ्जाल जोडिने र सडक कालोपत्रे पनि गराउने सरकारको योजना छ । यसअघि सडक निर्माण भइसकेका ७५ जिल्लामध्ये ६२ जिल्लामा वर्षैभरि गाडी चलाउन सकिन्छ भने १३ जिल्लामा मौसमी सडक संचालनमा छ । वर्षायाममा चलाउन नसकिने जिल्लाहरूमा भोजपुर, सोलुखुम्बु , ओखलढुङ्गा, खोटाङ, मुस्ताङ , मनाङ, रुकुम, बाजुरा, जुम्ला, कालिकोट र मुगु लगायत छन् ।

हुन त सडक सञ्चालनमा रहेका धेरैजसो जिल्लामा पनि सन्तोषजनक अवस्था छैन । सडकहरू भरपर्दो नभएकै कारण दैनिक रूपमा दुर्घटनाहरू थपिंदो छन् । यसको जल्दो बल्दो उदाहरणका रूपमा भर्खरै मात्र भएका ठूला सडक दुर्घटनाहरूलाई लिन सकिन्छ ।

दुर्घटनाकै हिसाबले हेर्दा धेरै दुर्घटना हुनेमध्ये कर्णाली राजमार्ग पनि पर्छ । ०६२ सालदेखि निर्माण थालिएको यो राजमार्ग ०६६ सालमा सम्पन्न भएको र त्यसै वर्षदेखि बससेवा पनि संचालनमा आएको थियो । बससेवा शुरु भए यता यस मार्गमा २ सय ९३ वटा सवारी दुर्घटना भइसकेका छन् भने २ सय ५० जनाले ज्यान गुमाइसकेका छन् । २ सयभन्दा बढी मानिस अपाङ्ग भएका छन् ।

२ सय ३६ किलोमिटर लामो यस सडकमा ०७२ चैत्र २ गते पनि ठूलो दुर्घटना भयो । यसमा १८ जनाको निधन भएको थियो । अहिले जनताहरू कर्णाली राजमार्गलाई मृत्युमार्गको नामले व्यङ्ग्य गर्न थालिसकेका छन् । सडक निर्माणमा भएको लापरवाही हो वा चालकहरूको बेवास्ता, यहाँ महिनै पिच्छे ठूला दुर्घटनाहरू भई नै रहने गरेका छन् ।

यति मात्र होइन, राजधानीलाई बाहिरी जिल्लासँग सम्पर्क गराउने मुख्य पृथ्वी राजमार्गलाई पनि सरकारले समय अनुसार विस्तार गर्न सकेको छैन । घण्टौं जाममा पर्दै यहाँ पनि यात्रीहरूले सास्ती पाउने गरेका छन् भने सवारी दुर्घटना पनि उत्तिकै हुने गरेको छ । पछिल्लो केही वर्ष यता मुग्लिन–नारायणघाट सडक मर्मत र विस्तारको क्रममा छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयको एक तथ्याङ्क अनुसार उपत्यकामा मात्र प्रत्येक महिना करिव २ सय वटा सडक दुर्घटना हुने गरेका छन् । यसबाट झण्डै २० जनाको मृत्यु र पाँच सयभन्दा बढी अपाङ्ग र घाइते हुने गरेका छन् । त्यस्तै उपत्यका बाहिर पनि हिजोआज सडक दुर्घटनाको क्रम आकासिँदो छ । यसरी हेर्दा दैनिक सरदर ७ जनाको र वार्षिक२ हजार जनाको मृत्यु सवारी दुर्घटनाबाट नै हुने गरेको छ । यी त प्रत्यक्ष देखिएका घट्ना हुन् । नदेखिएका दुर्घटनाहरूको अवस्था त झन भयावह छ । यसरी हुने गरेको सडक दुर्घटनाको मुख्य कारण चालकहरूको लापरवाही, साँघुरा र घुम्ती सडक, पुराना सवारी साधनहरूको समयमा मर्मत नहुनु र पैदल यात्रीहरूको हेलचेक्रयाईं मुख्य रूपमा रहेका छन् ।

वर्ष ०७२ असोजदेखि मंसिरसम्मकै मात्र कुरा गर्ने हो भने सडक दुर्घटनाकै कारण यसअवधिमा करिव ३ सयभन्दा बढी सर्वसाधारणले ज्यान गुमाएका थिए । ठूला दुर्घटनालाई सर्सती हेर्दा ०७२ असोज २० गते डोटीमा वस दुर्घटना भयो । यसमा ३० जना यात्रीको दुःखद निधन भएको थियो । असोज २३ गते नुवाकोटमा भएको वस दुर्घटनामा १८ जनाको ज्यान गयो । असोज २७ गते बबरमहलमा भएको दुर्घटनामा ३ जनाको मृत्यु भयो । त्यस्तै ०७२ कै कार्तिक १० गते ओखलढुङ्गामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भयो । कार्तिक १६ गते मकवानपुरको शान्तिपुरमा भएको बस दुर्घटनामा १० र १८ गते मकवानपुरमै ट्रक दुर्घटनामा ७ जनाको मृत्यु भयो । मंसिर ४ गते जाजरकोटमा भएको बस दुर्घटनामा पनि ठूलो मानवीय क्षति भयो । यहाँ करिब ५० जना मानिसको ज्यान गएको थियो । मंसिर ५ गते खोटाङ्गमा भएको अर्को दुर्घटनामा ७ जनाको मृत्यु भयो । ०७३ साउन ३१ मा काभ्रे जिल्लाको विर्तादेउरालीमा भएको वस दुर्घटनालाई पनि भुल्न सकिंदैन । सडकबाट १५० मिटर तल बस खसेर भएको यो दुर्घटनामा २७ जनाको निधन भएको थियो भने ४० भन्दा धेरै घाइते भएका थिए । सोही दिन बैतडीमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो ।

यी त मानवीय क्षति धेरै भएका केही बस दुर्घटनाका उदाहरण मात्र हुन् । यस्ता दुर्घटनाहरू हिजोआज दैनिकजसो हुने गरेका छन् । गएको दशैंको अवधिमा मात्र देशभर ९८ जनाको सवारी दुर्घटनामै मृत्यु भएको तथ्यांक ट्राफिक प्रहरीले दिएको छ । करिब पाँच वर्षको तथ्यांक हेर्दा १२ हजार ७८० जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । यो संख्या एक दशक लामो माओवादी विद्रोहका क्रममा ज्यान गुमाउनेहरूको तुलनामा बढी हो ।

सरकारले सडक विस्तार कार्यक्रमलाई सजिलो र भरपर्दो बनाउने अभिप्रायका साथ १ दशकदेखि कृषिसडक र ग्रामीण सडक निर्माण कार्यलाई पनि प्राथमिकतामा राखेको छ । यस अनुरूप स्थानीय स्तरमा जनतालाई सडक हस्तान्तरण गराई उनीहरूकै रेखदेखमा मर्मत गराउने गरि कार्यक्रमहरू पनि अगाडि सारेको छ । वर्षेनी यस्ता सडकलाई वजेट पनि विनियोजन गर्दै आएको छ । थुप्रै सडकहरू यस कार्यक्रम अन्र्तगत अहिले पनि निर्माणाधीन छन् । यसै कार्यक्रमका कारण जिल्ला सदरमुकामसम्म गाउँहरूको सम्पर्क पनि जोडिएका छन् । यो एकदमै सकारात्मक र सह्राहनीय कार्य हो । तर यस्ता सडक निर्माण गर्दा हुने गरेका अनियमिताले गर्दा सीमित व्यक्तिहरूले मात्र यसको फाइदा लिएको र निर्माण हुनु पर्ने ठाउँमा काम राम्रो नहुँदा जनमानसमा सरकारी कार्यक्रमहरूले राम्रो छाप छोड्न नसकेको त छँदै छ सरकारले सडकमा गरेको अर्बौंको लगानी पनि बालुवामा पानी जस्तै भएको छ । जसको परिणामस्वरूप अहिले यस्ता दुर्घटनाहरू बढ्ने गरेका छन् ।

देश निर्माणको मेरुदण्डको रूपमा रहेको सडक यातायातलाई समय अनुकूल र आवश्यकता अनुरूप निर्माण गराउँदै जाने हो भने यसले देश विकासको गतिलाई अग्रसरता दिलाउने छ । जनताले पनि विकासको अनुभूति गर्न पाउनेछन् । सडक निर्माणको नाउँमा ठेकेदारहरूले काम गराएको जस्तो आँखामा छारो हाल्ने काम गर्ने र बजेटजति खल्तीमा भर्ने गराउने वर्तमान अवस्थाले सडक क्षेत्रमा सोचेअनुरूप काम हुन सकेको छैन । सरकारी प्रयास र सडकका लागि आउने गरेको वैदेशिक सहयोगको पनि सदुपयोग हुन नसकेको यथार्थको प्रत्यक्षदर्शी जनता स्वयं छन् । यसतिर सरकार र जिम्मा लिएको सम्बन्धित निकायले समयमै ध्यान पुर्‍याउन जरुरी छ । अन्यथा सडक निर्माणमा अनियमितता बढ्दै जाने, सडकहरू बिग्रने, सवारी दुर्घटनाहरू बढ्ने क्रमले निरन्तरता पाउने र यसकै कारण थुप्रै जनधनको क्षति हुने निश्चित छ ।

[email protected]

Logo