सबै स्थानीय तहमा प्रहरीकाे गुनासो पेटिका राखिने

सबै स्थानीय तहमा प्रहरीकाे गुनासो पेटिका राखिने


काठमाडौं । प्रहरीले जनतालाई पुर्‍याउँदै आएको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन बागमती प्रदेश प्रहरी कार्यालयले विभिन्न स्थानीय तहमा सुरु गरेको प्रहरी गुनासो पेटिका थप विस्तार गर्ने योजना अघि बढाइएको छ ।

यसअघि प्रदेशभित्रका १० जिल्लाका २८ स्थानीय तहमा मात्रै सीमित राखिएको गुनासो पेटिका अब प्रदेशका अन्य सबै पालिकामा समेत राख्ने गरी तयारी अघि बढाइएको हो । तीन चरणमा प्रहरी गुनासो पेटिका प्रदेशका सबैजसो स्थानीय तहमा राखिने छ ।

सुझाव पेटिकामा प्राप्त सुझावले प्रहरी सङ्गठनलाई थप बलियो बनाउन सघाउ पुगेकाले सुझाव पेटिकालाई व्यापक बनाउन लागिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले जानकारी दिए । प्रहरी कार्यालयमा वर्षौँदेखि गुनासो पेटिका राखिए पनि प्रहरीका गलत कामको उजूरी त्यहाँ नपर्ने हुनाले अब स्थानीय निकायमा सर्वसाधारणलाई गुनासो पेटिका राखिएको प्रदेश प्रहरी कार्यालयको निष्कर्ष छ ।

स्थानीय तहमा राखिएको गुनासो पेटिका प्रत्येक महिनाको १ गते सम्बन्धित तहका प्रतिनिधि र स्थानीयवासी, नजीकको प्रहरी एकाइका प्रतिनिधिले सिलबन्दी गरेर प्रदेश प्रहरी कार्यालयमा पठाउनुपर्छ । गुनासोमाथि छानबिन र कारवाही गर्ने काम प्रदेश प्रहरी कार्यालयले गरिरहेको जनाइएको छ ।

नागरिकलाई प्रहरीले प्रदान गर्ने सेवा थप प्रभावकारी बनाउन बागमती प्रदेश प्रहरी कार्यालयले विभिन्न स्थानीय तहमा गुनासो पेटिका राख्दै आएको छ । गुनासो पेटिकामा प्राप्त आवश्यक योग्य सुझावलाई तत्काल कार्यान्वयन चरणमा अघि बढाइने गरिएको प्रहरी नायब महानिरीक्षक लामाले जानकारी दिए ।

पहिलो चरणमा भरतपुर महानगर र हेटौँडा उपमहानगरसहित २५ नगरपालिका र जिल्ला सदरमुकाममा रहेको एउटा गाउँपालिकामा गुनासो पेटिका राखिएको थियो । अब दोस्रो चरणमा ७० गाउँपालिका गुनासो तथा सुझाव सङ्कलन पेटिका राखिने छ भने तेस्रो चरणमा आवश्यकतानुसार वडा कार्यालय समेतमा विस्तार गरिने प्रदेश प्रहरी कार्यालयको योजना छ ।

स्थानीय तहमा सेवा लिन जाने सेवाग्राहीले पनि प्रहरीलाई आफ्नो कामकारबाहीबारे गुनासो र सुझाव दिन सक्ने छन् । सुझाव तथा गुनासो गोप्य रहने छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले स्थानीय तहमा ‘गुनासो पेटिका’ राखेर प्रहरी–कर्मचारीका गलत कामको उजूरीसमेत सङ्कलन सुधारका लागि विविध काम गर्दै आइरहेको छ ।

Logo