राष्ट्रियसभाको हिउँदे अधिवेशन भोलिदेखि, यस्ताे छ पहिलो दिनको सम्भावित कार्यसूची

राष्ट्रियसभाको हिउँदे अधिवेशन भोलिदेखि, यस्ताे छ पहिलो दिनको सम्भावित कार्यसूची


काठमाडौं ।

सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ । संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ बजे बस्ने गरी आह्वान गरेकी हुन् ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिले अधिवेशनको पहिलो दिनको बैठकमा पेश हुने कार्यसूची तयार गरेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकको शुरुमै अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र बाचन गरेर सुनाइनेछ ।

समिति गठन आदेश

अध्यक्ष तिमिल्सिनाबाट जारी भएको राष्ट्रियसभाका समिति गठन सम्बन्धी आदेश, २०७७ सभाबाट अनुमोदनका लागि पेश हुने कार्यसूची छ । बैठकमा अधिवेशन प्रारम्भ भएको अवसरमा उक्त सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले अधिवेशन सफलताका लागि शुभकामना मन्तव्य राख्ने छन् ।

अध्यादेश

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन, गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन, नेपाल प्रहरी र प्रदेश प्रहरी पहिलो संशोधन तथा सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश बैठकमा पेश गर्ने सम्भावित कार्यसूची छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि तेस्रो संशोधन, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्य विधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेश गर्नुहुने संसद् सचिवालयले जनाएको छ ।

शोक प्रस्ताव

प्रतिनिधिसभा सदस्यद्वय सानु सिवा र सूर्यबहादुर केसी तथा प्रतिनिधिसभाका पूर्वसदस्य ओमकारप्रसाद गौचन र राष्ट्रियसभाका पूर्वसदस्यद्वय दीपकबहादुर गुरुङ र इन्द्रहाङ लीम्बुको निधनमा शोकप्रस्ताव प्रस्तुत हुने सभाका लागि तयार पारिएको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

 

 

Logo