बालुवाटारको जग्गा किन्नेविरुद्ध पनि मुद्दा चलाउने अख्तियारको तयारी

बालुवाटारको जग्गा किन्नेविरुद्ध पनि मुद्दा चलाउने अख्तियारको तयारी


काठमाडौं, २०७६ मंसिर २५ ।

बालुवाटारको २१४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने योजनाकारहरू मात्र होइन, जग्गा किन्नेहरू विरुद्ध पनि मुद्दा चल्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी जग्गा किनबेच गर्ने दुबै पक्षलाई मुद्दा लगाउने निष्कर्ष निकालेका छन् ।

‘जग्गाधनीलाई पनि मुद्दा चल्छ,’ अनुसन्धान टिममा रहेका अख्तियारका एक अधिकारी भन्छन्, ‘तर, कुन तह र कुन हदसम्म कारवाही हुने भन्ने निर्क्योल हुन बाँकी छ ।’ राणा परिवार र उनीहरूसँग जग्गा किन्ने दुई तहसम्मलाई मुद्दा चल्ने सम्भावना रहेको उनले बताए ।

प्रधानमन्त्रीनिवाससँगै जोडिएको ललिता निवासको जग्गा हाल सयभन्दा धेरै व्यक्तिको नाममा छ । अख्तियारले ती सबै जग्गाधनीसँग बयान सकेर मुद्दा चलाउन प्रक्रिया अघि बढाइसकेको छ ।

मुख्य योजनाकार शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीले नै विभिन्न व्यक्तिलाई बिक्री गरेका हुन् । भाटभटेनी सुपरमार्केटले सोही जग्गामा गोदाम बनाएको छ । यो जग्गामा नेकपाका महासचिव विष्णु पौडेलको छोराको नाममा समेत घडेरी छ । धेरैजसो जग्गा बैंकमा धितो राखेर करिब दुई अर्ब कर्जा निकालिएको छ । जसकारण यो मुद्दामा बैंकहरूको लगानी संकटमा पर्ने देखिएको छ ।

प्रहरीको सिआइबीले पनि अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याएको छ । अख्तियारले मुद्दा दायर गरिसकेपछि कागजपत्र किर्ते देखिएमा मुद्दा दायर गर्ने सिआइबीको तयारी छ । सो प्रकरणमा सरकारी जग्गा कसरी व्यक्तिको नाममा गयो भनेर थप छानबिन गर्ने जिम्मेवारी सरकारले सिआइबीलाई दिएको थियो । ‘केही ल्याब रिपोर्ट आउन बाँकी छ, एक–दुईजनासँग थप बुझ्नुपर्नेछ,’ ब्युरोका निर्देशक डिआइजी नीरज शाही भन्छन्, ‘अब छिटै प्रतिवेदन बुझाउँछौँ ।’
नयाँ पत्रिकाबाट

Skip This
Logo