इलाममा भएको आगलागीबाट २६ लाख बराबरको क्षति

इलाममा भएको आगलागीबाट २६ लाख बराबरको क्षति


इलाम, २०७६ मंसिर २४ ।

इलाम श्रीअन्तुको घरवासमा (होमस्टे) सोमबार दिउँसो आगलागी भएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा २६ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

सूर्योदय नगरपालिका– ५ अन्तुका मानवीर तामाङले सञ्चालन गरेको घरवासमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । आगलागीबाट तामाङको काठ र सिमेन्टले बनेको दुईतले घरको माथिल्लो तला जलेर नष्ट भएको छ । आगलागीबाट चार तोला सुन, पाँच लाख नगद, लत्ताकपडा, भाडा वर्तन, फर्निचर, खाद्य सामग्री जलेर नष्ट भएका बताइएको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईका अनुसार काठबाट बनाइएको घर भएकाले तत्काल आगो नियन्त्रणमा लिन समस्या भएको थियो । आगलागी स्थानीयवासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएका छन् ।

Logo