सडक मानवमुक्त अभियान : बालाजुमा बन्ने भयो अस्थायी आवास केन्द्र

सडक मानवमुक्त अभियान : बालाजुमा बन्ने भयो अस्थायी आवास केन्द्र


काठमाडौँ,

एक छाक खान नपाएर सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्ने अभियानमा लागेको काठमाडौँ महानगरपालिकाले सडकबाट उद्धार गरिएका व्यक्तिहरुका लागि ‘अस्थायी आवास केन्द्र’ बालाजुमा राख्ने भएको छ ।

बालाजुस्थित बाइसधारा नजिक रहेको महानगरपालिकाको भवनलाई उपयोग गरेर उनीहरुको अल्पकालीन आवासको व्यवस्था मिलाइएको काठमाडौँ महानगरपालिकाका प्रमुख तथा उक्त अभियान मूल व्यवस्थापन समितिका संयोजक विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।

महानगरले उद्धार गरेर राखिएकाहरु मध्ये वास्तविक बेसहारा, पेशेबर मगन्ते, र मदिरा खाएर सडकमा पुग्ने व्यक्तिहरुको पहिचानका लागि बाजालुको भवनलाई छनोट केन्द्र (स्क्रिनिङ सेन्टर) बनाउन लागेको हो । यहाँबाट छनोटपछि पहिचान भएका असहाय, मनोरोगी र बेवारिसेलाई मानवसेवा आश्रममा राखिनेछ भने अभिभावक भएकाहरुलाई परिवारमा पठाइनेछ । मदिरा खाएर सडकमा गएका तथा पेशेवर मगन्तेहरुको भने उचित व्यवस्थापन गरिने महानगर प्रमुख शाक्यले बताउनुभयो ।

“अभियान शुरु भइसक्यो, हामी आवश्यक प्रक्रियामा गइसक्यौँ, आगामी तीन महिनामा एक छाक खान नपाएर सडकमा बस्ने अवस्था अन्त्य गरिसक्ने योजना छ, उद्धार गरेर बालाजुको स्क्रिनिङ सेन्टरमा लगिएकाको पहिलो चरणको सबै व्यवस्थापन महानगरले गर्छ”, प्रमुख शाक्यले भन्नुभयो । उहाँले मङ्सिर २९ गते महानगर दिवसको दिनमा उक्त अभियानको औपचारिक घोषणा हुने जानकारी गराउनुभयो ।

मानवसेवा आश्रमसँगको सहकार्यमा शुरु गरिएको सहयोगापेक्षी सडकमानव मुक्त अभियानको पहिलो चरणमा शुक्रबार महानगरपालिकाले काठमाडौँमा वडाध्यक्ष तथा सरोकारवाला सङ्घसंस्थाबीच सुझाव सङ्कलन गरेको छ । केही दिनदेखि नियमित रुपमा प्रचारात्मक कार्यक्रम जारी छ ।

उक्त कार्यक्रम कार्यान्वयन सम्बन्धी भएको छलफलमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी र मानवसेवा आश्रमले विगतमा अघोषित रुपमा उद्धार अभियान चलाउँदै आएकोमा यसपटक घोषणा गरेरै अघि बढ्ने योजनाले थप उत्साहित भएको बताउनुभयो । गत वर्ष चलाइएको अभियानका क्रममा काठमाडौँका सडकबाट १६७ जनाको उद्धार गरिएको थियो ।

मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खान नपाएर र एकसरो लगाउन नपाएर सडकमा पुग्ने अवस्थाको अन्त्य गर्ने महाअभियानमा सहभागी हुन महानगरवासीलाई अपिल गर्दै विसं २०८२ सम्ममा नेपाललाई नै सहयोगापेक्षी सडकमानव मुक्ति गर्ने लक्ष्य रहेको जानकारी गराउनुभयो । उहाँले यसअघि गोरखा नगरपालिका, मकवानपुर जिल्ला र भरतपुर महानगरपालिकाका साथै पशुपतिनाथ लगायत केही धार्मिक क्षेत्रलाई सडक मानवमुक्त क्षेत्र बनाइसकिएको बताउनुभयो ।

छलफलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा महानगरपालिकाका वडाध्यक्षको सहभागिता थियो । सहभागीहरुले सडकमा रहेका बेवारिसेहरुलाई उद्धार गरेर संरक्षण दिनु तथा मगन्तेहरुको व्यवस्थापन गर्नु महत्वपूर्ण भएकाले कार्यक्रम सफल पार्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
रासस

Logo