साग र उपनिर्वाचनको सुरक्षामा कुनै सम्झौता नगर्नू : प्रहरी महानिरीक्षक खनाल

साग र उपनिर्वाचनको सुरक्षामा कुनै सम्झौता नगर्नू : प्रहरी महानिरीक्षक खनाल


काठमाडौं,

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अन्तर्राष्ट्रियस्तरको खेलकूद प्रतियोगिता तथा उपनिर्वाचन हुने स्थानमा शान्ति सुरक्षामा कुनै किसिमको कमी कमजोरी नगर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मङ्सिर १५ देखि २४ सम्म हुन गइरहेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) तथा मङ्सिर १४ गते केही स्थानमा हुने उपनिर्वाचनको सुरक्षा व्यवस्थापनका विषयमा शुक्रबारमहानगरीय प्रहरी कार्यालय तथा मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले राष्ट्र र नागरिकप्रति समर्पित भई राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभएको छ । नेपाल प्रहरी कुनै पनि चुनौतीको सामना गर्न सक्षम रहेको चर्चा गर्दै उहाँले विगतका अनुभव र अभ्यासको उपयोग गर्दै थप संवेदनशिल भई व्यावसायिकता प्रदर्शन गर्न निर्देशन दिनुभयो ।

नेपालमा आयोजना हुन लागेको सागको सुरक्षा प्रदान गर्ने दायित्वलाई अवसरका रुपमा लिई जिम्मेवारी वहन गर्न आग्रह गर्दै उहाँले समाजमा शान्ति सुरक्षा कायम गरी नागरिकलाई सुरक्षित बनाउनु प्रहरीको मुख्य जिम्मेवारी रहेको बताउनुभयो । खेलकुद प्रतियोगिताको अवधिमा सुरक्षा व्यवस्थाप्रति सबै प्रहरी कर्मचारीले त्रुटिरहित तरिकाले खेलाडीको सुरक्षा, निवासस्थान, समारोहस्थल, खेल मैदानका साथै ट्राफिक व्यवस्थापनसमेतमा उत्तिकै सक्रिय भई कार्यसम्पादन गर्न उहाँले प्रहरी अधिकृतलाई निर्देशन दिनुभयो । उहाँले सम्भावित घटना तथा अवाञ्छित गतिविधिको पहिचान गरी सूचना सङ्कलन तथा विश्लेषण गर्दै प्रहरीको सक्रियता बढाउनुपर्नेमा जोड दिनुभयो ।

Logo