‘भारतले नक्सामा राख्दैमा नेपाली भूमि हराउँदैन’ (भिडियो सहित)

‘भारतले नक्सामा राख्दैमा नेपाली भूमि हराउँदैन’ (भिडियो सहित)


झण्डै तीनवटा भक्तपुर जिल्ला बराबरको नेपाली भूभाग भारतले आफ्नो नक्सामा गाभेपछि यसले तरंग पैदा गरेको छ । उसले किन ती भूभागलाई आफ्नो नक्सामा गाभ्यो ? र, त्यसलाई फर्काउन नेपालले गर्ने प्रयास कस्ता–कस्ता हुनसक्छन् ? र, त्यसले दिने सम्भावित ‘रिजल्ट’ के हो ? आजको मूल प्रश्न यही नै हो । यिनै प्रश्नहरू लिएर केन्द्रबिन्दु टिम चीनका लागि पूर्व राजदुत टंक कार्की निवास पुगेको थियो ।

अध्ययनशील राजनीतिककर्मीको परिचय वनाएका कार्कीलाई बौद्धिक नेताका रूपमा पनि धेरैले चिन्दछन् । तत्कालीन पार्टी मालेको विद्यार्थी संगठन अखिल (अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन) को प्रथम (संस्थापक) अध्यक्ष भएर इतिहासमा नाम लेखाएका कार्कीको परिचय खासगरी चीनका लागि नेपाली राजदूत भएपछि फराकिलो बनेको हो । पार्टी (नेकपा) को केन्द्रीय सदस्य भए पनि राष्ट्रियताको सवालमा पार्टीभन्दा माथि उठेर व्याख्या-विश्लेषण गर्नसक्ने तथा स्पष्ट सोच राखेर बोल्नसक्ने भएकाले पनि टंक कार्कीलाई नरुचाउने विपक्षीहरू कमै छन् ।

प्रस्तुत छ, भारतले आफ्नो नक्सामा जर्बजस्ती मिसाएका नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीका सम्बन्धमा उनै पूर्वराजदूतसँग गरिएको कुराकानी –

लिपुलेक, लिम्पियाधुरा र महाकालीलाई समेत भारतले आफ्नो नक्सामा राख्यो भन्ने कुरा छ । यो खासमा कस्तो ठाउँ हो ? अवस्था कस्तो हो ?

लिपुलेक रणनीतिक ठाउँ हो । पारिपट्टि चीनको ताक्लाकोट छ । यतापट्टि कालापानी । त्यो यस्तो ठाउँ छ, जहाँबाट चिनिया क्षेत्रको गतिविधि पनि ‘मोनिटरिङ’ गर्न सकिन्छ । बलियो तथा मजबुत किल्ला राख्न सकिने ठाउँ भएकाले पनि भारतीय आकर्षण बढेको हो । त्यसैगरी त्यतातिर नेपालको सुरक्षा उपस्थिति नभएकाले त्यो कमजोरीलाई उपयोग गर्दै भारतीयहरूले कब्जा गरेर बसे । उनीहरू बस्दा–बस्दै हामीले पनि समयमा भन्न सकेनौं ।

के कस्ता प्रमाणहरू छन्, ती भूभाग नेपालका हुन् भन्ने ?

प्रमाणहरू हामीसँग प्रशस्तै छन् । यतिवेला वरिष्ठ पत्रकार भैरव रिसाल बोलिरहनुभएको छ, ‘मैले २०१८ सालमा त्यस क्षेत्रमा जनगणना गराएको थिएँ’ भनेर । त्यसपछि २०१५ सालको ‘भोटलिस्ट’ पनि होला हामीसँग । त्यहाँका जनताले नागरिकता लिएको प्रमाण होला हामीसँग । इष्टइण्डिया कम्पनी सरकारसँग गरिएको सुगौली सन्धि छ, हामीसँग । त्यसमा स्पष्ट रूपमा काली नदी पूर्ण रूपमा हाम्रो हो भनेर उल्लेख गरिएको छ । ब्रिटिश–इण्डिया सरकारका समयमा तयार गरेको नक्सा पनि छ । यति प्रमाण नै काफी छन् हाम्रा लागि ।

नेपालको तर्फबाट अहिलेको सीमा विवाद समाधान गर्न पहल सुरु भएको छ त ?

पहलहरू २०५० सालदेखि हुन थालेको पाइन्छ । खासगरी दार्चुलाका सांसद तथा नेता क. प्रेमसिंह धामीले संसदमा यस विषयलाई राम्रोसँग उठाउनुभयो र यो स्थापित पनि भयो । अर्को कुरा सचिवस्तरीय समिति पनि बनेका छन् । तर अब त्यो ‘मेकानिज्म’ले काम गर्न सक्दैन भन्ने हो । त्यो प्रभावकारी पनि भएन ।

यो समस्या त्यत्तिकै सामसुम हुने हो कि ?

यसको प्रक्रिया छ । तर यो चुप लाग्ने विषय होइन । त्यसै सामसुम हुने विषय पनि होइन । भारतले आफ्नो नक्सामा राख्यो भन्दैमा त्यो भूमि हराएर पनि जाँदैन । अन्तर्राष्ट्रिय सीमा समाधानका अन्य प्रक्रियाहरू पनि छन् । ती सबै प्रक्रियाहरूका लागि हामी तयार हुनुपर्छ । यो सेलाउने र सेलाउन दिने विषय होइन ।

समाधानका उपाय कसरी अघि बढिरहेको देख्नुभएको छ ?

सर्वदलीय बैठक सम्पन्न भएको छ । इतिहासमा नै यस्तो अभूतपूर्व एकता देखिएको थिएन । राजनीतिक रूपमा सिंगो मुलुक एक ढिक्का भएको छ । यस समस्याको समाधानका लागि प्रधानमन्त्रीलाई ‘म्यान्डेड’ प्राप्त भएको छ । राज्य ‘प्रोसेस’मा छ । प्रधानमन्त्रीज्यूले एक इञ्च भूमि पनि छोड्दिन भनिसक्नुभएको छ । र, त्यसले भारतीय सञ्चार माध्यममा पनि राम्रै महत्व पाएको छ । उनीहरूका तर्फवाट एकजना दूत आएर फर्केको सुनेको छु ।

भूभाग फिर्ता गर्ने विषय अब कसरी अघि बढ्छ त ? ‘प्रोसेस’ बताइदिनुस् न !

हामीसँग प्रमाण छन् । त्यसैको आधारमा हामी भारतसँग वार्ता गर्छौं । भारतले प्रमाण मान्नुपर्छ । कतिपयले त्यो भारतको ‘स्ट्राटिजिक’ क्षेत्र हो त्यसैले छोड्दैन पनि भन्छन् । भारत त्यस तरिकावाट प्रस्तुत भयो भने हामीले अर्को विकल्प खोज्नु पर्ने हुनसक्छ । ठूला देशहरूको समूहमा हामी जानुपर्ने हुन सक्छ । दीर्घकालका लागिचाहिँ वैज्ञानिक आधारमा सीमा निक्र्योल गर्नुपर्छ ।

भारतको यो मुभलाई अर्को छिमेकी चीनले चाहिँ कसरी हेरिरहेको होला ? पूर्वराजदूत भएका नाताले पनि तपाईंले अनुमान लगाउन सक्नुहोला !

यो स्ट्राटिजिक क्षेत्र भएकाले भारतलाई यो भूमि आफ्नो बनाउँदा पक्कै सहज हुन्छ । तर अर्को पक्षलाई त्यही कुराले असहज बनाउँछ होला नि त । त्यसकारण त्यो क्षेत्र फिर्ता गर्दा उसैलाई पनि राम्रो हुन्छ । भारतले आफ्नो गल्ती सच्याएर अघि बढ्नु राम्रो हुन्छ । उसको हित त्यसैमा छ ।

सिमानामा चीनतिरको अवस्था के छ ? उनीहरूले पनि मिचेको कुरा आएको छ ।

चीनसँगको सीमा विवाद सन् १९६० मा नै आधारभूत रूपमा समाधान गरिसकेका छौं । तर, उनीहरूले पनि मिचेका छन् र हामी अन्यायमा परेका छौं भने प्रमाण सहित पेश गर्नु पर्‍यो । मलाई लाग्दैन, चीन बलमिच्याइँ गर्दै हडप्ने सोचमा छ । उनीहरू क्षेत्रीय अखण्डताको सम्मान गर्छन् ।

एकजना नेपाली कांग्रेसका सांसदले त समितिको बैठकमा खुलेरै भन्नुभएको छ, चीनले मिचेको सिमानाको कुराचाहिँ किन उठ्दैन ?

बोलेर मात्र हुँदैन । त्यसका लागि खास प्रमाण चाहिन्छ । सन् १९६० मा वीपी कोइरालाको पालामा पनि चाइनिजहरूले भनेका थिए, ‘हाम्रो जमीन मिचिँदा खासै फरक पर्दैन । तर, थोरै मात्र मिचिँदा पनि तपाईंहरूलाई गारो पर्छ ।’ अर्को कुरा यति बेलाको पहिलो प्राथमिकता भनेको भारतीय नक्सा विवाद नै हो । त्यसलाई समाधान नगरी अर्को समस्यामा पस्नु हुँदैन । मूल समस्यालाई ‘डाइभर्ट’ गर्ने कार्य हुनुहुँदैन ।

भारतले गरेको यो मुभको दीर्घकालीन असर कस्तो हुन्छ होला ?

अहिले भारतीयहरूले जे गरे त्यसले नेपालीहरूको भावनामा ठेस पुगेको छ । यसको कष्टचाहिँ लामो समयसम्म रहिरहनसक्छ । (मनोवैज्ञानिक असर त रहिरहन्छ नि !)

भारतीय पक्षवाट भएका अन्य सीमा समस्याको बारेमा चाहिँ के भन्नुहुन्छ ?

भारतले सीमामा दिएका समस्या धेरै छन् । सुस्तामा पनि निकै समयदेखि समस्या यथावत् छ । मेचीदेखि महाकालीसम्म नै हाम्रा सिमाना सरेका छन् । यी सबै समस्यालाई क्रमशः समाधान गर्दै जानुपर्छ । तर सुरुमा लिपुलेक, कालापानी, लिम्पियाधुरामा नै केन्द्रित हुनुपर्छ ।

यो समस्या आउनुमा तत्कालीन राजा महेन्द्रलाई दोष दिनेहरू पनि छन् नि ?

समस्या कहाँवाट सुरु भयो भन्ने यकिन तथ्य कतैवाट आएको छैन । राजा महेन्द्रको पालादेखि हो भन्न पनि प्रमाण चाहिन्छ । आरोप लगाएर मात्र त भएन नि ! फेरि राज्यको भूभाग कसैले दिएर दिइन्छ र ? महेन्द्रले दिएको प्रमाण भएको भए त भारतले त्यो देखाइसक्थ्यो होला नि ! त्यसकारण कसको पालामा, कसले ? कहिलेदेखि ? आदि प्रश्न गौण हुन् ।

समस्या समाधानको खास कडीचाहिँ के के हुन सक्छ ?

खास कडी भनेको सुगौली सन्धि हो । काली नदी हाम्रो हो भन्ने प्रमाण त्यसले दिन्छ । त्यो सिमानामा भारत सहमत भएपछि कुरै सकिन्छ । त्यसैगरी जनगणना भएका छन् । तिरो तिरिएको छ । नागरिकता वितरण भएका छन् । अर्थात् हामीसँग भएका यी तमाम प्रमाणहरूले ती भूभाग हाम्रो हो भन्ने पुष्टि गर्छ । त्यही फाइल बोकेर वार्ताको टेबलमा बस्नुपर्छ । त्यो वार्ता चाहिँ ‘हाइयर लेबल’बाट हुनुपर्छ । कूटनीतिक ‘नम्र्स’ पूरा गरेर अघि बढेको खण्डमा समाधान हुन्छ र त्यो राष्ट्रको पक्षमा हुन्छ भन्ने कुरामा म विश्वस्त छु ।

तपाईंको विचारमा समाधानको ‘वान लाइन’ उपायचाहिँ के हो ?

अहिलेको पहिलो ‘स्टेप’ भनेको ‘डिप्लोम्याटिक’ ढंगले अघि बढ्ने नै हो । त्यसमा पनि यसको पहल ‘हाइएस्ट’ तहबाट नै गरिनुपर्छ, ‘पोलिटिकल’ लेभलबाट । यही नै हो ।

हेर्नुहोस् भिडियो :-

Logo