उपनिर्वाचन ०७६ : कास्की-२ सबैको आँखामा

उपनिर्वाचन ०७६ : कास्की-२ सबैको आँखामा


कास्की,

देशभरिबाट विशेष चासोका रुपमा हेरिएको कास्की क्षेत्र नं २ तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनपछि खाली भएको क्षेत्र हो । यहाँ मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । महानगरका ११ वटा वडाका ७१ हजार ८७१ मतदाताले उम्मेदवार चयन गर्दैछन् ।

यस क्षेत्रमा ठूला, साना र स्वतन्त्र गरी २१ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । चुनावी चर्चामा विशेष गरी दुई पार्टी देखिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट अनेरास्ववियूका पूर्व सचिवसमेत रहनुभएका विद्या भट्टराई उम्मेदवारका रुपमा हुनुहुन्छ । नेपाली काँग्रेसले पनि पार्टीमा लामो समय योगदान गरेको भन्दै ७४ वर्षीय खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । त्यसैगरी समाजवादी पार्टीका तर्फबाट धर्मराज गुरुङ र राप्रपाका तर्फबाट रोमबहादुर भण्डारी उम्मेदवार हुनुहुन्छ ।

वैकल्पिक शक्तिका रुपमा प्रचार गर्दै आएको साझा पार्टीले पनि युवा नेत्री रजनी केसीलाई उम्मेदवार बनाएर प्रचार शैलीलाई व्यापकता दिएको छ । यता साधारण ‘मान्छेको असाधारण राजनीति’ भन्दै विवेकशील नेपाली दलका तर्फबाट स्वतन्त्र उम्मेदवार जमुना शर्मा पनि मतदाता माझ पुग्नु भएको छ ।

स्वतन्त्रका उम्मेदवार पनि सामाजिक सञ्जालबाट आफ्नो चुनावी कार्यसूचीलाई सार्वजनिक गरिरहेका छन् । विशेष गरी चर्चामा भने काँग्रेस र नेकपाका दुई उम्मेदवार देखिएका छन् । दुवै पार्टीले यस उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएकाले पनि यस चुनावलाई विशेष रुपमा हेरिएको छ ।

कास्केलीले सत्तारुढ नेकपाकी भटट्राईलाई राजनीतिक चेत भएको, सामाजिक अध्ययनको पृष्ठभूमिका साथै प्राज्ञिक महिला भएका कारणले उहाँको राजनीतिको पुनः आगमनलाई स्वागतयोग्य ठानेका छन् । जुझारु र विकासप्रेमी नेता अधिकारीकी पत्नी भएकाले पनि उहाँप्रति मतदाताको सहानुभूति रहन्छ कि भन्ने अनुमान छ ।

जनताको आधारभूत आवश्यकताको पहिचान गरी त्यसको समस्या समाधान गर्न नेताले सक्नुपर्ने र त्यसलाई समाजको गहिरो अध्ययनको अनुभव मिसाई राजनीतिबाट समाधान गर्न सक्ने क्षमता आफूसँग भएको भटट्राईले बताउँदै आउनुभएको छ । पछिल्लो समय राजनीतिप्रति युवाको वितृष्णा बढ्दै गएको भन्दै नयाँ पुस्तालाई राजनीतिमा संलग्न गराएर नयाँ ‘भिजन र मिशन’का साथ अघि बढ्नु पर्ने बेला आएको उहाँको भनाइ छ । उद्यमशील समाजबाट समृद्धि हासिल हुने कुरामा विशेष ध्यान दिनुपर्ने तर्क उहाँको छ । यस क्षेत्रमा अधिकारीले तीन पटकसम्म चुनाव जितेकाले पनि कतिपयले यसलाई आधार मानेका छन् ।

काँग्रेसका उम्मेदवार पौडेल पनि आफू निष्ठाको राजनीति गरेकाले पार्टीमा आफ्नो योगदानको मूल्याङ्कन ढिलै भए पनि भएको बताउनुहुन्छ । जनताका पक्षमा आवाज उठाउने नयाँ सोच र खबरदारी गर्ने दृढ सङ्कल्प आफूसँग रहेकाले यसपालिको चुनाव उमेरले बूढो भए पनि राजनीति गर्ने युवा जोश र जाँगर आफूसँग अझै रहेकाले ट्रम्प स्टाइलबाट चुनाव जित्ने उहाँले बताउँदै आउनुभएको छ । लामो समय शिक्षण पेशामा आबद्ध पौडेललाई मतदाताले अग्रज गुरुका रुपमा मानेका छन् ।

चुनावी अभियानमा कार्यकर्ताको राम्रै उपस्थितिका साथ घरदैलामा देखिनुभएका समाजवादी पार्टीका उम्मेदवार गुरुङ पनि आफ्नो जीत सुनिश्चित भएको बताउनुहुन्छ । विदेशका विभिन्न ठाउँ र संयुक्त राष्ट्र सङ्घमा लामो समय काम गरेको अनुभवसमेत रहेको बताउने इञ्जिनीयर गुरुङ देश कसरी बन्छ भन्ने दृष्टिकोण आफूसँग रहेकाले देशका लागि आफू चाहिने नेता भएको जिकिर गर्नुहुन्छ । आर्थिक र विलासी जीवनशैलीको लोभ आफूमा नभएकाले बाँकी जीवन देशको विकासमा समर्पण गर्ने उहाँको अठोट छ । घरदैलोमा आफू जस्तै नेता जनताले खोजेकाले आफ्नो जीत सुनिश्चित भएको उहाँको जिकिर छ ।

राप्रपाका भण्डारी पनि हिन्दू राष्ट्रको माग आफ्नो पार्टीले उठाएकाले जनताले आफूहरुलाई मत दिने विश्वास व्यक्त गर्नुहुन्छ । वि.सं. ०२८ मा प्रधानपञ्च बन्नुभएका भण्डारी ०४९ मा पोखरा महानगरपालिकाका प्रमुखका प्रत्याशी हुनुहुन्थ्यो । वि.सं ०५६ मा सांसदमा उठेको अनुभवसमेत उहाँसँग छ ।

मतदातामाझ पुग्दा देशमा संवैधानिक राजतन्त्र आवश्यक रहेको र हिन्दू धर्म संस्कृतिको खातिर पनि राप्रपालाई जनताले रोज्ने भण्डारी बताउनुहुन्छ । अब जनताले राजतन्त्र र हिन्दू राष्ट्र खोजेको भन्दै आफूले चुनाव जित्नेमा शङ्का नरहेको उहाँको भनाइ छ ।

साझा पार्टीका उम्मेदवार केसी देश बदल्न मन र मत बदल्नुपर्ने तर्कका साथ घरदैलामा पुग्नुभएको छ । देशमा पटक पटक शासन व्यवस्था बदलिए पनि पद्धति नबदलिएकाले अब जनताले वैकल्पिक शक्तिको महसुस गरेको भन्दै आफूलाई जनताले मत दिनेमा ढुक्क हुन्छ । परम्परावादी सोचको राजनीतिको आयु अब सकिएको छ भन्दै उहाँले देशमा सुशासनका लागि साझा पार्टी एक मात्र विकल्प भएको र कास्कीबाट इतिहासको विकुल फुक्ने दिन नजिकिएको जिकिर गर्नुहुन्छ ।

विवेकशील नेपाली दलका तर्फबाट स्वतन्त्र उम्मेदवार जमुना शर्माले पनि अबको राजनीति कुनै वाद÷तन्त्रविरुद्ध वा प्राप्तिको निम्ति नभई राजनीति गरीबी, अशिक्षा, भ्रष्टाचार, असमानता र परनिर्भरताविरुद्ध हुनुपर्ने बताउँदै आउनुभएको छ । सबै उम्मेदवारले आफूलाई योग्य ठानेर जिकिर गरे पनि यसको फैसला भने मङ्सिर १४ गतेपछि कुर्नैपर्छ । कास्कीका कुल ७१ हजार ८ सय ७१ मतदाताले ३२ स्थल र ८२ केन्द्रबाट मतदान गर्दैछन् ।
रासस

Logo