थाईल्याण्डकी पोर्नतिप र भियतनामका फामलाई उपाधी

थाईल्याण्डकी पोर्नतिप र भियतनामका फामलाई उपाधी


काठमाडौं,

थाईल्याण्डकी पोर्नतिप बुरानाप्रसेर्तुक महिला तर्फ र भियतनामका काव सुओङ्ग फाम पुरुष तर्फ योनेक्स सनराईज नेपाल अन्तराष्ट्रिय च्यालेञ्ज २०१९ को उपाधी बिजेता भएका छन् ।

आईतबार सम्पन्न फाईनल खेलमा प्रतियोगितामा पहिलो स्थान प्राप्त पोर्नतिपले कोरियाकी गा युन पार्कलाई २१–१६, २१–१४ को जित निकाल्दै उपाधी जितेकी हुन् । यस्तै पुरुष तर्फ प्रतियोगितामा छैटौं बरियता पाएका भियतनामका फामले आठौं स्थान प्राप्त थाइल्याण्डका अदुलराच नामकुललाई २४–२२, ९–२१, २१–१९ ले पन्छाउँदै उपाधी उचालेका हुन् ।

बिजयी पुरुष तथा महिला एकल तर्फ विजेताले नगद १८७५ युएस डलर र उपविजेताले ९५० डलर सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै तेश्रोले ३६२.५० डलर, प्रमाण पत्र र मेडल प्राप्त गरे ।

महिला युगल तर्फ अष्ट्रेलियाका सेताना मापासा र ग्रोन्या सोमरभिल्ले उपाधी उचाले । प्रतियोगितामा पहिलो बरियता प्राप्त अष्ट्रेलियनजोडीले फाईनलमा चौथो स्थानका मनिषा के. र रुतापर्ना पान्डाको जोडीलाई २१–१०, १८–२१ र २१–११ ले पराजित गरे । यस्तै पुरुष युगल तर्फ आत्री मनु र रेड्डी बि. सुमिथको जोडीले भारतकै एम.आर. अर्जून र ध्रुव कपिलाको जोडीलाई २१–१९, २१–१५ ले पन्छाउँदै उपाधी उचाले ।

मिश्रीत युगल तर्फ थाईल्याण्डका सुपार्क जोमखो र सुपिसारा पाउसाम्प्रानको जोडीले कोरियाका ना सुङ्ग सिउङ्ग र किम मिन जीको जोडीलाई पराजित गर्दै उपाधी हात पारे । थाईजोडीले कोरियन जोडीलाई २१–१८, २१–१६ ले पराजित गरेका हुन् । बिजयी पुरुष तथा महिला जोडी र मिश्रीत जोडीले नगद १ हजार ९ सय ७५ डलर, उपविजेताले ९ सय ५० डलर, तेश्रोले ३ सय ५० डलर प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल, सदस्य एकेन्द्र कुँवर, नेपाल लन टेनिस संघकी अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिकी उपाध्यक्ष ज्योती राणालगायतले पुरस्कार वितरण गरेका थिए । पाँच दिनसम्म चलेको प्रतियोगितामा २१ राष्ट्रका १४९ खेलाडीहरुको सहभागिता रहेको थियो । पहिलो पटक नेपालले आयोजना गरेको च्यालेञ्जको पुरस्कार राशी २५ हजार डलरको थियो ।

Logo