सान्टियागो । चिलीमा नयाँ संविधान निर्माणका लागि जनमत संग्रह हुने भएको छ । चिलीमा नयाँ संविधान र यसमार्फत राजनीतिक सुधारका लागि भन्दै गएको करिब महिना दिनदेखि नै आन्दोलनकारीहरुले दिनहूँजसो प्रदर्शन गरिरहेका छन् ।
उनीहरूको मागको सम्बोधन गर्दै चिलीको सरकारले शुक्रबार नयाँ संविधान लेखनका लागि जनमत संग्रह गर्ने घोषणा गरेको हो ।
यहाँको वर्तमान संविधान सन् १९८० मा जारी भएको हो । त्यस संविधानलाई तानाशाहले जबर्जस्ती जारी गरेको भन्दै अब प्रजातान्त्रिक संविधान बनाउने भनेर यो घोषणा गरिएको हो । चिलीका पूर्व शासक अगस्तो पिनोचेटले सो संविधान जारी गरेको र उक्त संविधान प्रजातान्त्रिक संविधान नरहेको भन्दै नयाँ संविधान जारी गर्न जनमत संग्रहको माग प्रदर्शनकारीहरूले गरिरहेका छन् ।
यहाँको संविधान तथा सरकारले नागरिकका आधारभूत अधिकारहरू जस्तो, शिक्षा, स्वास्थ्यको व्यवस्था गर्न नसकेको भन्दै दशौँ हजार नागरिकले प्रदर्शन जारी राखेका थिए । शुक्रबार आन्दोलनकारी र सरकारका तर्फबाट प्रतिनिधिहरूले वार्ता गरेका थिए । त्यस वार्ताका क्रममा उनीहरूले यो संविधानलाई विस्थापित गरी नयाँ संविधान निर्माण गर्नका लागि जनमत संग्रह गर्ने विषयमा सहमत भएका बताइएको हो । सरकारको वार्ता टोली र विपक्षी दलहरुका प्रतिनिधिहरुबीच शुक्रबार भएको लामो छलफलपछि सन् २०२० को अप्रिलमा जनमत संग्रह गर्ने विषयमा सहमति भएको समाचारमा जनाइएको छ ।
चिलीका गृहमन्त्री गोन्जालो बुमलले यो सहमति ऐतिहासिक भएको बताएका छन् । उनले यस सहमति बमोजिम चिलीमा नयाँ जनमत संग्रह हुनेछ र यसले पुरानो संविधानलाई नै जारी राख्ने कि अर्काे संविधान तयार पार्ने भन्ने बारेमा निर्णय दिने बताए ।
यसका साथै आगामी संविधानमा नागरिकका के कस्ता आधारभूत आवश्यकताका विषयहरू राख्ने भन्ने बारेमा पनि आगामी जनमत संग्रहले निर्णय गर्ने भएकोले प्रदर्शनकारीहरुले आफ्ना विरोध प्रदर्शनहरुलाई शुक्रबारदेखि नै स्थगित गरेका छन् । (रासस/सिन्ह्वा)
प्रतिक्रिया