ऋषभदेव घिमिरेका २ कविता : रमादेवीको कथा र गाडौँ किल्ला सबैतिर

ऋषभदेव घिमिरेका २ कविता : रमादेवीको कथा र गाडौँ किल्ला सबैतिर


१. रमादेवीको कथा

उमेरले उकालो उक्लेर डाँडामाथिको घाम जूनसँगै
डुब्ने तयारीमा पुगिसक्दा पनि
तेजिलो छ रमादेवीको अनुहार
चम्किलो र लालीमय छ निधारमा देखिएका कुलेसाका रङ्गहरू
समाएर हातले कोदालो
खोरिया खोस्रने जाँगर छ
अदम्य साहस छ
स्मृतिमा अनेकन सुनेका, देखेका र भोगेका
असख्य कथाहरू छन् ।

कथाहरू सुनाउन लालायित छन्
रमादेवीका स्मरणहरू
‘विचित्रको देखियो
युद्धमा हवाइजहाज खस्यो
कुनै पखेटा ऐरावतीमा
कुनै भाग बारीमा’
युद्धको प्रत्यक्षदर्शी
कतिपय घटना परिघटनाको आफै पात्र
वीभत्स संहारका दृश्यहरू
रमादेवीका आँखाको डबलीमा नाचेका देखिन्छन् ।

म हेर्ने र पढ्ने कोसिस गर्दै छु
इतिहासरूपी रमादेवीको नयनका पानाहरू ।
“छोरा मान्छे देखिनै हुन्नथ्यो
कोइलाई जापानी सेनाले
कोइलाई विद्रोहीले टिपेर लान्थ्यो,
थुप्रै विदेशी सेना धपाएका थिए
छोरा, भतिजा र मावली खलकले
सरल नै थियो छोरी मान्छेका लागि
खड्डामा कैयौ रात बिते
हिसाबै छैनन्’
रमादेवीले सुनाउदै गरेका हृदय विदारक सम्वादले
लाग्छ कलमको लेख्य चक्षु चिसिएको छ
ओसिएको छ कापीको पाना
पग्लिएर ओरालो झर्न खोज्दै छ भित्री मनको मसी
आवश्यकताभन्दा स्तब्ध छ मेरो उर्वर कवित्व ।

दिउसभरि रातिका लास उठाउँथे
शूलमा उनेर थुप्रै लास बगाउँथे सैनिकहरू
सुनाइ रहनुभयो हजुर आमा युद्धका वीभत्स घटनाहरू ।
लाबर बारीका अनेकन घटनाहरू
सुरुङभित्रै विवाह भएका सम्झनाहरू
कान्छो मामाको जन्ती गएको प्रसङ्ग
दुलही लिएर जन्ती नफर्केका घटनाहरू
बर्माको तात्कालिक युद्ध घटनाकी प्रत्यक्षदर्शी रमादेवी
सम्झदै सम्झदै भन्नुहुन्थ्यो, सुखददुखद दुवै कथाहरू ।

कहिले जापानी सेनाका विरुद्ध
कहिले बेलायती सेना विरुद्ध
कहिले आफ्नै मितहरूसँग लडेर
नै गुमाए थुप्रैले खसमहरू ब्रम्हदेशले
थुप्रै सास्ती झेल्यो सुनै सुनले सिंगारिनु पर्ने देश
मणिमाणिक्यले चम्किनु पर्ने घरका छानाहरू
ढिलै भए पनि फेरेर शान्तिको सास
यतिबेला रमाइरहेका छन् रमादेवी र उनका सन्तानहरू ।

“लावरबारी हुँदा त“
“केटाकेटी नै थिएँ म“
“माइतीको याद हो ! अझै आउँछ“
टोलाउदै आँखा लावरबारीतिरै पुर्याए झै गर्थिन्
कान छाम्दै ढुङ्ग्री, अनि नाक छाम्दै बुलाकी लगाएको
कुरा सुनाउथिन् मुक्त कण्ठले
हास्थिन् तत्क्षण नै सुक्सुकाउँथिन्
सायद नुन बारेको सम्झेर होला
ढाकर बोकेर बसाइँ सरेको यादले होला
गाईगोठ जलेको दृश्यले होला
रमादेवी मौन हुन्थिन्
र, भन्थिन्- अब कसैले पनि युद्धको पीडा खेप्न नपरोस्
विश्वले नै देख्न नपरोस्
युद्धका अलच्छिनी आँखाहरू !

(प्रस्तुत कविता म्यान्मारसग सम्बन्धित छ । यो कविता ऋषभदेव घिमिरेद्वारा विविध घटना परिघटनाकी प्रत्यक्षदर्शी रमादेवी गजुरेलसँगका कुराकानीमा आधारित भएर लेखिएको हो।)

     

२. गाडौँ किल्ला सबैतिर

भन्दै छु सत्य सन्देश लेख्दै छु आजका कुरा
मिच्दै छ शत्रुले सुस्ता मिचेछ लिम्पियाधूरा ।
सकिन्न मौन भै बस्न अस्मिता लुटिएपछि
शत्रु मित्रु अनि हुन्छ सीमाना छुट्टिएपछि ।।

पुगेथ्यौं पूर्वमा टिष्टा पश्चिम काँगडा थियो
जालले झेलले माटो छिमेकीले लुटी लियो ।
सँधियार पर्‍यो कप्टी कालापानी उता सर्‍यो
मर्यादाहरू बिर्सेर छिमेकी त्यो तलै झर्‍यो ।।

बार बेराहरू सारा भत्काउँछ लडाउँछ
मिच्दै छ साँध अर्काको पापी हात बढाउँछ
लिपुलेक हुँदै जाने कोर्नु छ मार्ग देशले
मिचेको भाग जम्मै नै छोड्नु पर्छ छिमेकीले ।।

हाम्रा यी शासकी भन्ने हुतिहारा बनिसके
निर्लज्ज बोली बोलेर झारपात बनिसके ।
आऊ जङ्गे तिमी आऊ गाड किल्ला सबैतिर
मिचेको साँध सिमाना फालौं मिली सबैतिर ।।

Logo