आन्दोलनरत उखु किसान र सरकारबीच ४ बुँदे सम्झौता, आन्दोलन स्थगित

आन्दोलनरत उखु किसान र सरकारबीच ४ बुँदे सम्झौता, आन्दोलन स्थगित


काठमाडौं ।

चिनी मिलबाट पाउनु पर्ने बक्यौता रकम भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौंको माइतीघर मण्डलामा विगत १६ दिनदेखि प्रदर्शन गरिरहेका किसान र सरकारबीच ४ बुँदे सम्झौता भएको छ ।

सरकारसँगको ४ बुँदे सम्झौतापछि आन्दोलनरत किसानहरुले आन्दोलन स्थगित गरेका छन् । आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि र उखु किसानहरुबीच यस्तो सम्झौता भएको हो ।

आन्दोलनरत उखु किसानले चिनी उद्योगीले २१ दिनभित्र सबै बक्यौता तिर्ने शर्तमा कृषकले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । यस्तै, उखु किसान र चिनी उद्योगसँग सम्बन्धित एक अध्ययन समिति बनाई १२० दिनभित्र प्रतिवेदन पेस गर्ने पनि सम्झौता भएको छ ।

उखु किसान र चिनी उद्योगीबीच सरकारको रोहबरमा गत वर्ष पुस १८ गते ५ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौता कार्यान्वयन नभएपछि किसानले यसवर्ष पनि आन्दोलन शुरु गरेका थिए ।

हलो, उखु र विभिन्न माग लेखिएका प्लेकार्ड लिएर विगत १५ दिनदेखि उखु किसानहरु आफ्नो पसिनाको भुक्तानी पाउनु पर्ने माग गर्दै आएका थिए । विगत सात वर्षदेखिको भुक्तानी मिल सञ्चालकहरुले नदिएपछि किसानहरु निर्णायक आन्दोलन गर्न भन्दै काठमाडौं आएका थिए । अब यो सम्झौता अनुसार कार्यान्वयन भए किसानहरुको आन्दोलन निर्णायक हुनेछ । चिनी उद्योगीहरुबाट उखु किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ ।

Logo