हत्या आरोपी १७ वर्षपछि पक्राउ

हत्या आरोपी १७ वर्षपछि पक्राउ


काठमाडौँ,
प्रहरीले दुई जना हत्या आरोपीलाई १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खनियाबासका ४२ वर्षीय गोम लामा तामाङ र काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका ३७ वर्षीय सुक लामा तामाङ छन् । ०५९ कात्तिक २९ गते धादिङको खनियाबास गाउँपालिका–३ का २४ वर्षीय परशुराम तामाङलाई खुकरी प्रहार गरी हत्या गरी दुवै जना फरार भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

घटनापछि गोम वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेटस् (युएई) मा तीन वर्ष बसी फर्केका व्यक्ति हुन् । पछिल्लो समय उनी काठमाडौँमा आएर कृषि फार्म तथा घर जग्गाको व्यवसाय गर्दै आएका थिए । यस्तै सुक कतार तथा मलेसियामा छ वर्ष बसेर मूलपानीमा होटल सञ्चालन गरी लुकीछिपी बस्दै आएको ब्यूरोले जनाएको छ ।

ब्यूरोको महारागजञ्जबाट खटिएको टोलीले दुवै जनालाई काठमाडौँको कागेश्वरी मनहरा नगरपालिकाबाट आइतबार पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङलाई बुझाएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभयो ।

दुई किलोग्राम कोकिनसहित पक्राउ

नेपाल प्रहरीले दुई किलोग्राम कोकिनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले दुई किलोग्राम १०० ग्राम कोकिनसहित ब्राजिलका नागरिक ६१ वर्षीय सर्जियो ट्रस ओगावालाई आज पक्राउ गरेको हो ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले ब्राजिलको सापाउलोबाट कतार एयरवेजको उडानद्धारा दोहाहुँदै नेपाल आएका ओगावालाई लागुऔषधसहित पक्राउ गरिएको जानकारी दिनुभयो । “कालो रङको सुटकेशमा खानतलासी गर्दा कालो रङको पेपरमा बेरेर फल्सबटम बनाईल्याएको अवस्थामा चेकजाँचका क्रममा पक्राउ गरेका हौँ”, उहाँले भन्नुभयो । पक्राउ परेका ओगावालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको लामाले बताउनुभयो ।

Skip This
Logo