यस वर्षको विद्यापति पुरस्कार उपाध्यायलाई

यस वर्षको विद्यापति पुरस्कार उपाध्यायलाई


मैथिली भाषाको सबैभन्दा ठूलो राशिको ‘विद्यापति मैथिली भाषा साहित्य पुरस्कार’ यस वर्ष साहित्यकार चन्द्रशेखर उपाध्यायलाई दिइने निर्णय भएको छ। पुरस्कारको राशि दुई लाख रुपैयाँ छ ।

नेपाल विद्यापति पुरस्कार कोषले पत्रकार सम्मेलन गरी आइतबार उक्त पुरस्कार धनुषा रघुनाथपुरका उपाध्यायलाई ‘सुदामा चरित्र’ नामक मैथिली खण्डकाव्यका लागि प्रदान गरिने  जानकारी दिएको छ।

यसैगरी नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार ‘कालो सूर्य’ नामक नेपाली भाषाको उपन्यास मैथिलीमा अनुवाद गरेका सुनसरीका शिवनारायण पण्डितलाई प्रदान गर्ने निर्णय गरिएको छ।

त्यस्तै नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार जनकपुरका पत्रकार उपेन्द्रभगत नागवंशीलाई दिइने भएको छ। उनको ‘काव्यकृति’ नामक कविता संग्रहको पाण्डुलिपि रहेको कोषका सदस्य सचिव नवीनकुमार मिश्रले जानकारी दिए।

नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार सप्तरीका दिनेश यादवलाई प्रदान गरिने भएको छ। त्यसैगरी नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार धनुषा धनौजीका लक्ष्मण मण्डललाई प्रदान गर्ने निर्णय गरिएको मिश्रले जानकारी दिए। यी पुरस्कारको राशी जनही एक-एक लाख रुपैयाँ छ। उनीहरू सबैलाई कोषको विधानबमोजिम यही आर्थिक वर्षभित्र पुरस्कार प्रदान गर्ने कोषले जनाएको छ।

मैथिली भाषा, कला, साहित्य संस्कृतिमा योगदान पुर्‍याउने व्यक्तित्वलाई पुरस्कृत गर्ने उद्देश्यले नेपाल सरकारले २०६८ साल कात्तिक १८ गते नेपाल विद्यापति पुरस्कार कोषको स्थापना गरेको थियो।

कोषले अहिलेसम्म ३० जना स्रष्टालाई पुरस्कृत गरिसकेको छ ।

Skip This
Logo