नासाले सम्मान गर्‍यो नेपाली वैज्ञानिक रश्मिलाई

नासाले सम्मान गर्‍यो नेपाली वैज्ञानिक रश्मिलाई


अमेरिका,

नेपालको धनुषा जिल्लामा जन्मिएकी डाक्टर रश्मि शाह अमेरिकी अन्तरिक्ष संस्था नासाबाट सम्मानित भएकी छिन् । हाल अमेरिकामा रहेकी शाहलाई नासाले अर्ली करिअर पब्लिक अचिभमेन्ट मेडलबाट सम्मानित गरेको हो ।

शाह नासाको जेल प्रोपल्सन लेबोरेटरीमा रिसर्च टेक्नोलोजिष्टका रूपमा कार्यरत छिन् । सन् २०१४ मा पर्ड्यु विश्वविद्यालयबाट एरोनोटिक्स र एस्ट्रोनोटिक्समा पीएचडी गरेदेखि उनी नासामा कार्यरत छिन् ।

नासाका कुनै कर्मचारीले नासामा आबद्ध भएको पहिलो १० वर्षमा नासाको मिशनका लागि असामान्य तथा अत्यन्तै महत्वपूर्ण योगदान दिएको खण्डमा यस्तो अवार्ड प्रदान गर्ने गरिन्छ । शाहले नासामा आबद्ध भएको ५ वर्षमै महत्वपूर्ण योगदान दिएका कारण यो अवार्ड प्राप्त गरेकी हुन् ।

शाहले माटोको मोस्चर मापन, आद्रभूमि, हिउँको गहिराइ र समुद्री सतहको गुणको मापनका क्षेत्रमा विशेष योगदान दिएकी थिइन् । मधेशी एशोसियसन इन अमेरिकाका संस्थापक उपाध्यक्ष अमित शाहले नेपालकी मधेसी महिलाले अमेरिकामा आएर यो उपलब्धि हासिल गर्नु निकै सकारात्मक र महत्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिए ।
अन्नपूर्णबाट

Logo