गुटबन्दीरहित पार्टी निर्माण गर्छौं :अध्यक्ष दाहाल

गुटबन्दीरहित पार्टी निर्माण गर्छौं :अध्यक्ष दाहाल


दाङ,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको गुटबन्दीले पार्टीलाई कमजोर बनाउँदै लगेकाले यसलाई अन्त्य गर्नुपर्ने बताउनु भएको छ । गुटबन्दीरहित पार्टी निर्माण गर्ने, सबै पार्टी सदस्यलाई माक्सवादी विचारमा प्रशिक्षण दिने र त्यही अनुसार पार्टी सदस्य जिम्मेवार बने यो समस्या समाधान हुने उहाँको भनाइ छ ।

नेकपा दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको जिल्लास्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हाम्रो दुश्मन हामीभित्रै नै छ, बाहिरको दुश्मनलाई त हामीले पराजित गर्दै आएका छौँ र अब हामीले पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्न तर्फ हामी लाग्छौँ ।” उहाँले यो कार्यमा केही चुनौती भए पनि यसरी अघि बढेमा कम्युनिष्टको भविष्य सुरक्षित रहन्छ, भन्नुभयो ।

पार्टीको सिद्धान्त समाजवाद उन्मुख जनताको जनवाद रहेकाले अहिले पार्टीको सिद्धान्तका विषयमा विभिन्न टीकाटिप्पणी हुने गरेको भन्दै अध्यक्ष दाहालले एकताका क्रममा तत्कालीन एमालेको जनताको बहुदलीय जनवाद र तत्कालीन माओवादी केन्द्रको २१ औँ शताब्दीको जनवादलाई समायोजन र परिमार्जन गरेर समाजवादउन्मुख जनताको जनवाद बनाएको स्पष्ट पार्नुभयो ।

सोही कार्यक्रममा नेकपाका प्रदेश नं ५ का इञ्चार्ज तथा मुख्यमन्त्री शङ्कर पोख्रेलले आलोचनाको सामना गर्नसक्नु नै सक्षम नेतृत्व भएको बताउनुभयो । उहाँले आलोचना गरेमा आतिने र प्रशंसा गर्दैमा रमाउने गरेमा आफैँ कमजोर हुने भन्दै यसमा सजक रहनुपर्ने बताउनुभयो । उहाँले पार्टी एकता चुनाव जितेर सरकार बनाउनलाई मात्रै नभई समाजलाई रुपान्तरण गर्न एकता गरिएको बताउनुभयो ।

त्यस अवसरमा नेकपा प्रदेश अध्यक्ष ओनसरी घर्ती र जिल्ला अध्यक्ष टीकाराम खड्काले पार्टी एकीकरणको भावनालाई आत्मसाथ गरेर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । कार्यक्रमा जिल्लाका प्रदेशसभा तथा प्रतिनिधिका सांसदसहित जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

Logo