अझै तोकिएन चार्जिङ स्टेशनको महसुल

अझै तोकिएन चार्जिङ स्टेशनको महसुल


काठमाडौं,
काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालन शुरु भए पनि सरकारले चार्जिङ स्टेशनका लागि महसुल तोकेको छैन ।

नेपालमा निजी क्षेत्रबाट विद्युतीय बस सञ्चालनमा आए पनि अहिलेसम्म चार्जिङ स्टेशनका विषयमा टुङ्गो लाग्न नसकेको हो । विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने सरकारको नीति भए पनि महसुल नतोक्दा अरु उपभोक्ताले जतिकै महसुल बुझाउनु परेको छ ।

पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादूर थापाले विद्युतीय बसलाई प्रोत्साहन गर्ने गरी चाँडो महसुल निर्धारण हुनुपर्ने बताउनुभयो । विद्युतीय बसमा पेट्रोलियम पदार्थबाट चल्ने बसमा भन्दा सञ्चालन खर्च कम लाग्ने गर्छ । त्यसका आधारमा प्रालिले अहिले सञ्चालनमा रहेको चार बसमा सरकारले निर्धारण गरेको भाडादर भन्दा २० प्रतिशत कम भाडा लिने गरेको छ । सरकारले महसुलमा सहुलियत दिँदा भाडादरमा अझै बढी छुट दिन सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विद्युतीय बस प्रोत्साहन गर्दा एकातिर यात्रुलाई भाडा कम पर्छ भने अर्कातिर वातावरण पनि सफा बनाउँछ ।”

अहिले सुन्दर यातायातका चार विद्युतीय बस सञ्चालनमा छन् । यही वर्ष थप २५ बस ल्याउने प्रालिले तयारी गरिरहेको छ । सरकारले साझा यातायातमार्फत खरिद गर्न लागेको ३०० विद्युतीय बस अन्योलमा रहँदा निजी क्षेत्रले भने यसमा इच्छा देखाएका छन् ।

Logo