निजगढ विमानस्थल : सेनाद्वारा रुख काट्न ढिलाइ

निजगढ विमानस्थल : सेनाद्वारा रुख काट्न ढिलाइ


काठमाडौं,

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढाइएको छ । दुई दशक अघि मुलुककै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा प्रस्तावित उक्त विमानस्थलको निर्माणका लागि कम्पनी छनोट प्रक्रिया अगाडि बढिसकेको छ ।

विमानस्थलको निर्माण तथा सञ्चालनका लागि ‘पब्लिक, प्राइभेट, पार्टनर्सिप, (पीपीपी) मोडलमा चयनसमेत भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई ‘पीपीपी’ मोडलमा निर्माण तथा सञ्चालनका लागि स्वीट्जरल्यान्डको जुरिज इन्टरनेसनल एयरपोर्टलाई सङ्क्षिप्त सूचीमा सूचीकृत गरी थप प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । बस्ती व्यवस्थापन र ‘साइट क्लियरेन्स’ को काम तथा सङ्क्षिप्त सूचीमा परेका निर्माण कम्पनीसँगको टुङ्गो एकैसाथ लगाउने गरी काम अगाडि बढाइएको उहाँले बताउनुभयो ।

लगानी बोर्डका प्रवक्ता बलराम रिजालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि बोर्डले स्वीस कम्पनी ‘सर्ट लिस्टिङ’ गरी सो कम्पनीसँग ‘रिक्वेस्ट अफ प्रपोजल, (आरएफपी)’ माग्ने निर्णय गरिएको जानकारी दिनुभयो । सो विमानस्थल निर्माण तथा सञ्चालनबारे लगानी बोर्डको प्राविधिक टोलीले अहिले विस्तृत मस्यौदा तयार गरिरहेको उहाँले बताउनुभयो ।

यस विमानस्थलको निर्माणका लागि आउने प्रस्तावको मूल्याङ्कनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा मूल्याङ्कन कमिटी गठन गरी प्रक्रिया अगाडि बढाइएको जानकारी समेत प्रवक्ता रिजालले दिनुभयो ।
गोरखापत्रबाट

Logo