कपिलवस्तुको तनाव मत्थर, आज कर्फ्यु हट्नसक्ने

कपिलवस्तुको तनाव मत्थर, आज कर्फ्यु हट्नसक्ने


बुधबार लक्ष्मीपूजाको मूर्ति विसर्जनको क्रममा विवाद भएपछि कपिलवस्तुको कृष्णनगरमा उत्पन्न तनाव मत्थर भएको छ । स्थानीय प्रशासनले आजै कर्फ्यु हट्नसक्ने संकेत दिएको छ ।

बिहीबार राति अबेर स्थानीय, सम्बन्धित पक्ष, कपिलवस्तु जिल्ला प्रशासन र सुरक्षा निकायका प्रदेश प्रमुखहरूसहितको सर्वपक्षीय वार्ताबाट लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने र प्रहरीको गोलीबाट मारिएका व्यक्तिको शव उठाउने सहमति भएको थियो । बिहीबार राति ११ बजेसम्म घटनासँग जोडिएका पक्ष नआएपछि सर्वपक्षीय वार्ता हुन सकेको थिएन ।

वार्तापछि प्रहरीको सहयोगमा लक्ष्मीपूजाको मूर्ति राति नै विसर्जन गरिएको र मृतकका आफन्तले शव बुझेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा लगेको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए ।

मृतकलाई क्षतिपूर्ति लगायतका केही माग जिल्ला र केन्द्रबाटै सम्बोधन गर्नुपर्ने खालका भएकाले त्यसका लागि पहल गर्ने र साम्प्रदायिक सद्भाव कायम राख्ने कुरामा दुवै पक्ष एकमत भएको बताइएको छ ।

यद्यपि बिहीबार बिहानदेखि लागेको कर्फ्यु भने हटेको छैन । कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा लगाइएको कर्फ्यु अर्को आदेश नभएसम्मका लागि जारी रहेको र शुक्रबार मध्याह्नसम्म कर्फ्यु हट्न सक्ने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताए ।

Logo