अस्पताललाई तीस लाखको उपकरण सहयोग

अस्पताललाई तीस लाखको उपकरण सहयोग


बागलुङ,

धवलागिरि अञ्चल अस्पताल बागलुङले प्रदान गर्ने सेवालाई थप गुणस्तरीय बनाउनका लागि आवश्यक उपकरण सहयोग प्राप्त भएको छ । ताइवानी रोटरियनले अस्पतालको सेवालाई गुणस्तरीय बनाउनका लागि ३० लाख बराबरको उपकरण सहयोग प्राप्त भएको अञ्चल अस्पतालले जनाएको छ ।

रोटरी क्लब अफ बागलुङले धवलागिरि अञ्चल अस्पतालमा आयोजना गरेको बृहत निःशुल्क सवस्थ्य शिविरका क्रममा बागलुङ आएका ताइवानीहरुले अस्पताललाई अत्यावश्यक उपकरण सहयोग प्रदान गरेको धवलागिरि अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले जानकारी दिनुभयो ।

अस्पताललाई छ लाख बराबरको मुटु जाँच गर्ने इको मेसिन, १२ लाख बराबरको अल्ट्रासाउण्ड मेसिन, १० लाख बराबरको अत्याधुनिक उपकरणजडित डेण्टल चियर दुई थान र डेण्टल सामग्री, रक्तचाप मापन गर्ने औजार छ थान लगायतका अस्पताललाई चाहिने अत्यावश्यक उपकरण ३० लाख बराबरको सहयोग प्राप्त भएको धवलागिरि अञ्चल अस्पतालले जनाएको छ ।

अस्पताललाई प्राप्त उपकरणले गुणस्तरीय सेवा छिटो–छरितो प्रदान गर्न निकै सहयोग पुग्ने अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले बताउनुभयो । “हामीकहाँ पेट, घाँटी लगायतको भिडियो एक्सरे गर्ने सेवा थियो, मुटुको भिडियो एक्सरे गर्न पोखरा पठाउनु पर्ने अवस्था हो”, पोखरेलले भन्नुभयो, “मुटुको भिडियो एक्सरे गर्न मिल्ने इको मेसिन सहयोग प्राप्त भए पनि बिरामीलाई राहत भएको छ ।” पोखरेलले अस्पतालमा डेन्टल चियरको अभावमा एकपटकमा एक बिरामीको दाँतको उपचार हुने गरेकामा सहयोग प्राप्त डेन्टल चियरपछि एक पटकमा तीन जनाको उपचार गर्न सकिने जानकरी दिनुभयो ।

ताइवानी रोटरीयनहरुले नेपालको स्वास्थ्य सेवामा व्यक्तिगतरुपमा सहयोग गर्दै आइरहेका छन् । प्राप्त उपकरणको प्रयोगले अस्पताल आउने बिरामीलाई निकै सहज भएको अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माले जानकारी दिनुभयो । ताइवानीहरुले बागलुङ नगरपालिकाको रामरेखा आधारभूत विद्यालका विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत हस्तान्तरण गरेका थिए । नेपालको बागलुुङमा स्वास्थ्य सेवा प्रदान गरी उपकरण हस्तान्तरण गर्दा बिरामीलाई निकै राहत भएको थियो ।

नेपालमा स्वास्थ्य सम्बन्धी चेतना जगाउनका लागि रोटरीले इन्टरनेशनल ताइवानले स्वास्थ्य क्षेत्रमा बढी महत्व दिएको रोटरी इन्टरनेशनल डिस्ट्रिक ताइवानका गर्भनर जोयले बताउनुभयो । उहाँले हस्तान्तरण गरेका उपकरणको सम्भार तथा सही प्रयोग गर्न आग्रह समेत गर्नुभयो ।

Logo