राजपा र समाजवादीबीच पार्टी एकता हुने

राजपा र समाजवादीबीच पार्टी एकता हुने


काठमाडौं,
सत्ता साझेदार समाजवादी पार्टी र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) बीच मंसिर पहिलो साताभित्र एकीकरण हुने भएको छ । दुवै दलका शीर्ष नेताबीच अहिले विभिन्न प्रस्तावमा गोप्य छलफल चलिरहेको छ ।

एकीकृत पार्टीको नेतृत्व, सिद्धान्त, नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल केन्द्रित रहेको छ । एकीकरणपछि संगठनको नेतृत्व कस्तो हुने र अन्य शीर्ष नेतालाई जिम्मेवारी के कस्तो हुने भन्नेबारे छलफल भइरहेको एक नेताले बताए । एकताका लागि छलफल सहमति नजिक पुगेको ती नेताको दाबी छ ।

राजपा नेपाल अध्यक्षमण्डलका पूर्वसंयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसँगको एकताको छलफल सहमतिनजिक पुगेको बताए । जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राजपा वार्ता टोलीका संयोजकसमेत रहेका नेता महतोले छलफल अन्तिम चरणमा पुगेको बताएका हुन् ।

एकीकृत पार्टीको नाम, झन्डा, छाप, भ्रातृ संगठनको स्वरूपसहित नीति तथा नेतृत्व लगायतका विषयमा छलफल सहमतिनजिक पुगेको उनको भनाइ थियो । विगत केही समयदेखि दुवै पार्टीबीच एकताका लागि गोप्य छलफल चलिरहेको छ । छलफलमा मुख्यतः एकीकृत पार्टीको नेतृत्वकै विषयमा नेताहरू बढी केन्द्रित हुने गरेका छन् । वैकल्पिक शक्ति निर्माण, संविधान संशोधनसहित आगामी दिनमा मूल राजनीतिको नेतृत्व गर्ने गरी अगाडि बढन खोजिएको नेता बताउँछन् ।

दुई पार्टीबीच एकताका लागि छलफल सकारात्मक रहेको बताइए पनि राजपाका नेता महतोले एकीकृत पार्टीमा सर्वोच्च नेता महन्थ ठाकुर हुनुपर्ने र समाजवादी पार्टीले सरकार छाड्नु पर्ने सर्त अगाडि सारेको बताए । राजपामा महतोसहित महेन्द्र राय यादव र शरदसिंह भण्डारी एकताको पक्षमा छन् भने झा र राजकिशोर यादव अहिलेकै अवस्थामा एकीकरण नगरिने पक्षमा उभिएका छन् । ठाकुर आफूले एकीकृत पार्टीको नेतृत्वसहित सर्वोच्च नेता भए पार्टी एकीकरण गरिने नभए नगरिने पक्षमा उभिएका छन् ।
राजधानीबाट

Logo