पहिलो महिला क्रिकेट लिग च्याम्पियनको उपाधी चितवनले जित्यो

पहिलो महिला क्रिकेट लिग च्याम्पियनको उपाधी चितवनले जित्यो


काठमाडौं । चितवन राइनोजले पहिलो वुमन च्याम्पियन्स लिग (डब्लुसीएल) टी-२० क्रिकेटको उपाधि जितेको छ। काठमाडौलाई ४५ रनले पराजित गर्दै चितवनले पहिलो महिला क्रिकेट लिगको उपाधी जितेको हो ।

चितवनको जितमा सुमन खतिवडाले अलराउण्ड प्रदर्शन गरिन् । ब्याटिङमा सर्वाधिक २९ रन बनाएकी खतिवडाले बलिङमा ३ विकेट लिइन्।

पाँच टीम सहभागी लिगमा अपराजित रहँदै उपाधि जितेको चितवनले नगद ७ लाख रुपैयाँ र ट्रफी जितेको छ। उपविजेता बनेको काठमाडौंले तीन लाखमा चित्त बुझायो ।

चितवन लिग चरणमा ४ खेल जित्दै सीधै फाइनल पुगेको थियो भने काठमाडौंले एलिमिनेटरमा विराटनगर टाइटन्सलाई पराजित गर्दै फाइनल पुगेको थियो ।

चितवनले दिएको ११३ रनको लक्ष्य पछ्याएको काठमाडौंले खराब ब्याटिङ गर्दै २० ओभरमा सबै विकेट गुमाउँदै ६७ रन मात्र बनाउन सक्यो। बलिङमा चितवनका लागि रीतु कनौजिया र सुमन खतिवडाले ३/३ विकेट लिए।

रीतुले ४ ओभरमा १ मेडन राख्दै ७ रन मात्र खर्चिइन्। सुमनले ४ ओभरमा १ मेडन राख्दै ११ रन मात्र खर्चिए। यस्तै रेखा रावलले २ विकेट लिइन्।

रेखाले ४ ओभरमा १ मेडन राख्दै ९ रन मात्र खर्चिइन्। त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाएको थियो ।

प्रतियोगितामा इमर्जिङ प्लेअर काठमाडौंकी ईश्वरी विष्ट, बेस्ट बलर कविता गौतम, बेस्ट ब्याट्सवुमन चितवनकी काजोल श्रेष्ठ र प्लेअर अफ दी सिरिज काठमाडौंकी रुविना क्षेत्री घोषित भइन्।

Logo