उरन्ठेउला गीतमाथि सरकारको डण्ठा !

उरन्ठेउला गीतमाथि सरकारको डण्ठा !


काठमाडौं । प्रहरी हिरासतमा रहेका चर्चित र्‍यापर समिर तामाङ ‘भिटेन’ लाई अभद्रमा मुद्दा चलाइने भएको छ । प्रहरी पोशाकको दुरुपयोग गरेको तथा प्रहरीको अपमान गरेको आरोपमा पक्राउ परेका भिटेनलाई अभद्रमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । उनले प्रहरी पोशाकमा चुरोट खाइरहेको तस्बिर फेसबुक प्रोफाइल तस्बिर बनाएका थिए।

बिहीबार बिहान पक्राउ परेका र्‍यापर ‘भिटेन’लाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अभद्र व्यवहार गरेको आरोपमा म्याद थप्ने तयारी गरेको छ । पक्राउ परेका भिटेनलाई बिहीबार दिउँसो मेडिकल जाँचको लागि अस्पताल लगिएको छ । ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा उनले आपत्तिजनक र अश्लील शब्द प्रयोग गरेको भन्दै प्रहरीमा सूचना आएको थियो ।

यसअघि महाशाखाले अश्लिल शब्द प्रयोग भएका गीत गाएको भन्दै गायक दुर्गेश थापालाई पक्राउ गरेको थियो । ह्याप्पि तिहार, चिसो वियर बोलको गीत गाएका थापाले सार्वजनिक रुपमा माफी माग्नुका साथै उक्त गीत यूट्यूबबाट हटाएपछि रिहा भएका थिए ।

गीत चार महिना अघि, पक्राउ अहिलेः
जुन गीतमा प्रहरीलाई जथाभावी भनेको भन्दै भिटेनलाई पक्राउ गरियो त्यो गीत आजभन्दा चार महिना अघि सार्वजनिक भएको थियो । भिटेन म्युजिक नामक यूट्यूबबाट जुन ७ मा सार्वजनिक भएको ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा प्रहरीलाई नै जथाभावी भनेको भन्दै प्रहरीमा उजुरी परेका थियो । गीत प्रयोग भएका ‘सही हो, सही हो’ र ‘यस्तै हो नि ब्रो’ थेगो जनजिब्रोमा झुन्डियो।

के छ त्यस्तो विवादास्पद शब्द ?
उक्त भिडियोलाई १ करोड ९० लाख भन्दा बढी पटक हेरिएको छ । उक्त भिडियोमा उनले रक्सी तथा प्रतिबन्धित गाँजाको शब्द समेत प्रयोग गरेका छन् । गीतमा ‘पुलिस चौकी भित्र बस्छु गर्छु दारु खादै मस्ती, शारुखानलाई लोन दिए अस्ती’ जस्ता विवादित शब्द प्रयोग गरेका छन् ।

त्यस्तै ….यक्तिकैमा समाउन आयो अपराध, बाल छैन्, मत झ्याप, चौकी छिरे डिएसपीलाई दिए अटोग्राफ, त्यो देख्दा डण्ठेहरुलाई आयो हर्टअट्याक… समेत भिटेनको र्‍यापमा प्रयोग गरिएको शब्द हो । त्यस्तै यस्ता अनेकन प्रकारका अश्लिल तथा अपशब्द उनको गीतमा प्रयोग गरिएको छ ।

यसैगरी उनले प्रहरीलाई इंगित गर्दै ‘डन्ठेहरुलाई ‘फक’ साइन। अनि हान्दै हिँड्छु थग लाइफ’ समेत भनेका छन्। युवाबीच लोकप्रिय भिटेनलाई गत वर्षमात्र पोखरामा स्टेज कार्यक्रममा ढुंगा प्रहार गरिएको थियो।

सरकारको नजरमा उरन्ठेउला गीतः
गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ बोलको गीतमा प्रश्न उठेपछि गीत नै यूट्यूबबाट हटाए । गीतको विषयमा प्रश्न उठेपछि गीत हटाउँदा सरकारमाथि जनआक्रोश निकै बढेको थियो । पशुपतिको गीत विवादमा आएको आठ महिनापछि गायक दुर्गेश थापाको ‘ह्याप्पी तिहार, चिसो वियर’ मा प्रतिबन्ध लाग्यो ।

दुर्गेशले आफ्नो गीतमा वियरको प्रचार गरेको तथा प्रतिबन्धित गाँजाको विषय उठान गरेको भन्दै गृह मन्त्रालय अपराध महाशाखालाई पठाएको पत्रका आधारमा प्रहरीले थापाको उक्त गीतमा प्रतिबन्ध लगाएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गीतका विषयमा छलफल गर्न अपराध महाशाखालाई थापालाई झिकाउन निर्देशन दिएको थियो । तर प्रहरीको अनुरोधलाई बेवास्था गर्दै हिडेका उनी अन्ततः असोज ५ गते पक्राउ परेका थिए ।

दुर्गेशले गीत हटाउनुका साथै सार्वजनिक रुपमा माफी समेत मागेका थिए । माफी मागेको केही समयपछि उनले त्यही गीतलाई पुनः अपलोड गर्दै अश्लिल शब्द म्यूट गरेका छन् ।

दुर्गेशको गीतमाथि प्रतिबन्ध लगाएको तीन दिनमै चर्चित ¥यापर भिटेन पक्राउ परेका हुन् । गीत सार्वजनिक भएको चार महिनासम्म मौन बसेको प्रशासनले उजुरीका आधारमा यस्तो कदम चालेको हो ।

एकपछि अर्को गर्दै उरन्ठेउला गीतमाथि प्रतिबन्ध लाग्न थालेपछि सांगीतिक क्षेत्रमा नयाँ बहस सुरु भएको छ । गीतमा प्रयोग गरिने छाँडापनलाई रोक्नु जायज भएको उनीहरुको दाबी छ ।

Logo