पर्यटकको बसाई लम्ब्याउन प्रभावकारी योजना आवश्यक

पर्यटकको बसाई लम्ब्याउन प्रभावकारी योजना आवश्यक


रुपन्देही,

रुपन्देहीमा पर्यटकको बसाई अवधि लम्ब्याउन पर्यटन सम्बन्धी योजना बनाएर कार्यान्वयन गर्न आवश्यक रहेकोमा जोड दिइएको छ । जिल्लामा पर्यटकको बसाई लम्ब्याउने विषयमा पर्यटन पत्रकार महासङ्घ रुपन्देहीले आज बुटवलमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सरोकारवालाले सरकार र निजी क्षेत्रबीच समन्वय गरी उचित योजना बनाएर तत्काल कार्यान्वयन गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० का प्रदेश सहसंयोजक माधव नेपालले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी योजना बनाएर तत्काल कार्यान्वयन गर्न आवश्यक रहेकाले त्यसको शुरुआत निजी क्षेत्रबाट गर्न आग्रह गर्नुभयो ।

पर्यटनमा आतिथ्यता प्रमुख पाटो रहेकाले भन्सार, यातायात तथा सम्बन्धित क्षेत्रमा पर्यटकलाई गरिने राम्रो आतिथ्यताले सकारात्मक प्रभाव पर्ने बताउनुभयो । “पर्यटन यस्तो उद्योग हो, यसमा ढिलो फल लाग्छ तर फल लागेपछि टिपेर सकिदैन”, उहाँले भन्नुभयो ।

लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सब्बिर अहमद खानले लुम्बिनीको प्रचारप्रचार र पर्यटन प्रवद्र्धनमा विकास कोष लागिरहेको बताउनुभयो । उहाँले पर्यटन प्रवद्र्धनका लागि स्थानीयलाई पनि जागरुक बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा अध्यागमन कार्यालय बेलहियाका निमित्त प्रमुख प्रेमबहादुर रोकाहाले जिल्लाका पर्यटकीय स्थलको व्यापक प्रचारप्रसार गरेर पर्यटक भित्र्याउन सकिने बताउनुभयो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै दोभान एकीकृत पर्यटन विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले रुपन्देहीका पर्यटकीय स्थल र संस्कृतिको खोजी गरी प्रचार गर्न आवश्यक रहेको बताउनुभयो ।

नेपाल एशोसिएसन अफ ट्राभल एण्ड टुर एजेण्टका प्रदेश ५ अध्यक्ष सागर अधिकारीले पर्यटकको बसाई अवधि लम्ब्याउन सरकारले पर्यटनमैत्री नीति बनाउनुपर्ने धारणा राख्नुभयो । रुपन्देही उद्योग सङ्घका अध्यक्ष बाबुराम बोहोराले रुपन्देहीको पर्यटन प्रवद्र्धन र पर्यटकको बसाई अवधि लम्ब्याउन सरकारले सक्रियता बढाएर लुम्बिनी मात्र नभई बुद्ध सर्किटका क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पर्यटन पत्रकार महासङ्घ प्रदेश नं ५ का अध्यक्ष भुवन कार्की, होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष समुन्द्र जिसी, सैनामैना थारु होमस्टेका अध्यक्ष खुशीराम चौधरी, पर्यटन व्यवसायी कृष्ण गुरुङले सरकारले समय निर्धारण गरेकाले पर्यटकलाई रातिमा सेवा दिन समस्या भएकाले २४ घण्टा व्यवसाय सञ्चालन गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ रुपन्देहीका उपाध्यक्ष निरु गौतम, ड्रिम देवदहका अध्यक्ष सिद्धिचरण भट्टराई, मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष खेम लुइँटेल, रुपन्देही व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष यमलाल लोहनी, सिद्धार्थ यातायात व्यवसायी सङ्घका अध्यक्ष सूर्य कुमार सारु,उद्योग व्यापार संगठनका महासचिब अनिल गजेडी, ताल विकास समितिका अध्यक्ष मीनप्रसाद थापालगायतले पर्यटकको बसाई अवधि लम्ब्याउन सबैको सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।

Logo