नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास आज

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास आज


काठमाडौँ,

राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार (आज) शिलान्यास हुने भएको छ । सडक विभागका प्रवक्ता शिवहरि सापकोटाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा सुरुङमार्ग शिलान्यास गर्नुहुने कार्यक्रम तय भएको छ ।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, नेपालका लागि जापानी राजदूत, जाइकाका प्रतिनिधि लगायतको सहभागिता रहनेछ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋण सहयोगमा सो सुरुङमार्गको निर्माण हुन लागेको हो ।

करिब २२ अर्ब रुपैयाँको लगानीमा निर्माण हुन लागेको सो सुरुङमार्गमा जाइकाले १६ अर्ब रुपैयाँ सहयोग गर्नेछ भने ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट बेहोर्ने छ । प्रवेश मार्गसहित ५.५६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
गोरखापत्रबाट

Logo