सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न आदेश

सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न आदेश


काठमाडौं जिल्ला अदालतले सत्तारुढ दल नेकपाका सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

आइतवार अदालतमा उपस्थित भएका गुरुङलाई साधारण तारेखमा रिहा गर्न पूर्णेश्वरप्रसाद उपाध्यायको एकल इजलासले आदेश दिएको छ । ज्यान मार्ने उद्योग अन्तर्गत पक्राउ पुर्जी जारी भएपछि दोलखाका सांसदसमेत रहेका नेकपाका नेता पार्वत गुरुङ आइतवार जिल्ला अदालतमा उपस्थित भएका थिए ।

गुरुङलाई केही दिन अघि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले ८ असोजमा सांसद गुरुङलाई पक्राउ पुर्जीको म्याद तामेल गरेको थियो । वीरध्वज खड्काको जाहेरीमा २९ वैशाख ०७६ मा काठमाडौं जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो ।

०७४ वैशाखमा भएको स्थानीय निर्वाचनलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण भएको थियो । त्यसपछि खड्काले गुरुङसहित संलग्न भई आक्रमण गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए ।

दोलखाबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट तत्कालिन एमाले उम्मेदवार बनेका गुरुङ सबैभन्दा बढी मत ल्याएर विजयी भएका थिए ।

Logo