ठडिंदै छन् भूकम्पले भत्काएका चण्डेनीमण्डनका मन्दिरहरु

ठडिंदै छन् भूकम्पले भत्काएका चण्डेनीमण्डनका मन्दिरहरु


  • ज्ञानमणि नेपाल कालोटोपी-
    चण्डेनीमण्डन, काभ्रे,

०७२ को विनासकारी भूकम्पले सबैभन्दा बढी भौतिक र मानविय क्षति पुर्याएको काभ्रेको साबिक चण्डेनीमण्डन गाविस (हाल मण्डनदेउपुर नपा १०) का धार्मिक सम्पदाहरु पुननिर्माणले गति लिएको छ । भूकम्पले यस गाविसमा मात्र ९८ प्रतिशत निजी घरहरु र सबैजसो धार्मिक सम्पदाहरु भत्किएका थिए । निजीघर निर्माणले करिव करिव अन्तिम रुप लिएको यहाँ पछिल्ला दिनहरुमा धार्मिक मठमन्दिरहरु पुनःनिर्माणमा युवापुस्तादेखि पाको पुस्ता सबैले चासो दिएका छन् ।

गतवर्ष तिहारमा देउसीभैलो खेलेर सहयोग जुटाउँदै जोगिटारमा रहेको रामजानकी मन्दिर पुनःनिर्माणको शुरुवात गरियो । यसवर्षको तिहार सम्ममा सो मन्दिर पुनःनिर्माण सम्पन्न भइसकेको छ । गएको असोज २६ गते दशैंको कोजाग्रत पूर्णिमाका दिन मन्दिर निर्माण सम्पन्न भएपछि उद्घाटन गरिएको मन्दिर पुनःनिर्माण समितीका अध्यक्ष नारायण नेपालले जानकारी दिनुभयो । सो मन्दिर निर्माणमा करिव १२ लाख खर्च भएको छ । जसमध्ये अधिकांश रकम देउसीभैलो खेलेर संकलन गरिएको थियो भने मण्डनदेउपूर नगरपालिकाले ३ लाख रुपैयाँ सहयोग गरेको थियो ।

नगर प्रमुख टोकबहादुर वाईबाले सो मन्दिर उद्घाटन गर्नुभएको थियो भने उहाँले सो मन्दिरका लागि ५१ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गर्न आफूले सहयोग गर्ने बताउनु भयो । यस्तै उहाँले मन्दिर निर्माणका लागि भएको घाटापूर्तिका लागि छुट्टै ५० हजार उपलब्ध गराउने बताउनुभयो ।

यस्तै सोहि वडाकै कान्तिटारमा रहेको महाकाली मन्दिरको पनि निर्माण सम्पन्न भएको छ । यो मन्दिर निर्माणका लागि पनि करिब १२ लाख रुपैयाँ खर्च भएको र यहाँको पनि अधिकांश रकम चन्दा उठाएरै निर्माण गरिएको स्थानिय युवा शंकरमणि नेपालले जानकारी दिनुभयो । यसवडामा निजी घर निर्माण सकिन लागेकाले युवाहरुको सक्रियतामा यस्ता सम्पदाहरुको निर्माणमा स्थानियहरुले सक्रियता दिएको बताइएको छ ।

यता वडाकै पुरानो र ऐतिहासिक श्रीचौरमा रहेको गणेशको मन्दिर पनि पूनःनिर्माण हुँदै गरेको छ । यस मन्दिरको पूनःनिर्माण करिव आधा सकिएको तर आर्थिक अभावले पूर्णता दिन नसकिएको मन्दिर पूनःनिर्माण समितीका सचिव हरिप्रसाद नेपालले जानकारी दिनुभयो । स्थानियस्तरमै चन्दा उठाएर शुरु गरिएको यस मन्दिर निर्माणका लागि गुठिसंस्थानले २ लाख ८८ हजार उपलब्ध गराएको थियो । निर्माणका लागि रकम अभाव भएकाले यसलाई सम्पन्न गर्न गाह्रो भएको र सहयोगका लागि समितीले सबैलाई अनुरोध गरेको छ ।

यस्तै मण्डनदेउपूर नगरपालिकाकै सबैभन्दा पुरानो र ऐतिहासिक उमादेवीको मन्दिर भने अहिले सम्म निर्माण शुरु नै हुन सकेको छैन । यसका लागि बजेट धेरै नै लाग्ने भएकोले मन्दिर निर्माण हुन नसकेको हो । तर पूनःनिर्माणको पहल भने गरिएको वडा नं. १० का वडाध्यक्ष विष्णुमणि नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँको पूनःनिर्माणका लागि पुरातत्व विभागले चासो देखाएको छ । सोहि ठाउँमा रहेको भिमसेनको मन्दिर पनि पुनःनिर्माण हुन सकेको छैन । विभागले अध्ययन गरिरहेको र केहि समयपछि नै पूनःनिर्माण शुरु हुने पनि वडाध्यक्ष नेपालले बताउनु भयो । पछिल्ला दिनहरुमा यसभेगका मन्दिर पूनःनिर्माणका लागि स्थानियवासीहरुले देखाएको सक्रियता निकै नै प्रशंसायोग्य रहेको पनि उहाँको भनाई थियो ।

 

सबैभन्दा पुरानो र ऐतिहासिक उमादेवीको मन्दिर भने अहिले सम्म निर्माण शुरु नै हुन सकेको छैन

 

 

Logo