केन्द्रबिन्दु समाचार प्रभाव : दुर्घटनाका गम्भिर घाइते मण्डनदेउपूरका शुशिललाई सहयोग जुट्न थाल्यो

केन्द्रबिन्दु समाचार प्रभाव : दुर्घटनाका गम्भिर घाइते मण्डनदेउपूरका शुशिललाई सहयोग जुट्न थाल्यो


  • ज्ञानमणि नेपाल कालोटोपी-
    कुन्तावेसी,काभ्रे ।

दुर्घटनाका गम्भिर घाइते विरामी जिल्लाको मण्डनदेउपूर नगरपालिका ९ का शुशील नेपाललाई आर्थिक सहयोग जुट्न थालेको छ । केही दिनअघि उनको उपचारमा आर्थिक अभाव सम्बन्धी समाचार केन्द्रबिन्दु डटकममा प्रकाशित भएपछि स्थानीय एकता युवा समुहले शुशीलको उपचारका लागि आर्थिक संकलन शुरु गरेको थियो ।

आजसम्म संकलित १ लाख १२ हजार ३२५ रुपैयाँ नर्भिक अस्पताल पुगेर विरामीका बुबालाई हस्तान्तरण गरिएको छ । यस भेगका युवाहरुको पहलमा ३५ जनाबाट सो रकम संकलन भएको हो । वडा नं. १० का वडाध्यक्ष विष्णुमणि नेपालले संकलित रकम विरामीका बुबालाई हस्तान्तरण गर्नु भएको थियो । शुशीलको अहिले राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । गएको असोज २० गते दशैंको नवमीका दिन साँझ मण्डनदेउपूरकै रानीटारमा पार्किङ्ग गर्न टिपर ब्याक गर्दा विपरित दिशाबाट आएको उनी चढेको स्कुटी ठोकिएको थियो । स्कुटी ठोकिएपछि शुशील गम्भिर घाइते भएका थिए ।

सोही स्कुटीमा सवार दयाराम नेपाल भने उपचारपछि घर फर्किएका छन् । पछाडि बसेका शुशीलको अवस्थामा हालसम्म केही सुधार त भएको छ तर उपचारका लागि आर्थिक अभाव भएपछि परिवारमा समस्यामाथि झन समस्या थपिएको छ । ना ४ ख ८३५ नं. को टिपरमा बा ६२ प ७१९० नं. को स्कुटी ठोकिएको थियो ।

शुशीलको टाउकोमा निकै गम्भिर चोट लागेका कारण उपचारमा २५ लाख जति लाग्ने अस्पतालले जनाएको छ । यद्यपी अहिलेसम्म करिव ८ लाख जति खर्च भइसकेको छ । घरको आर्थिक अवस्था एकदमै कमजोर भएकाले अहिले साथीभाईहरुको सहयोगले उपचार गराउँदै आएको स्थानिय पुष्पराज नेपालले जानकारी दिए । सबैले मानवीय सहयोग गर्ने हो भने उनको जीवन बचाउन सकिने पुष्पराजले बताएका छन् ।

 

स्थानीय एकता युवा समुहले शुशीलको उपचारका लागि सबैसँग आर्थिक सहयोगको अपिल गरेको छ । गम्भिर घाइते शुशील सोहि समुहका सदस्य पनि हुन् । २३ वर्षिय उनको उपचारका लागि सहयोग गर्न चाहनु हुनेले निजका दाई सुनिल नेपाल (९८४५८१५५८८) तथा एकता समुहका सदस्यहरुसँग सम्पर्क गर्न सकिनेछ । पुष्पराज नेपालको सम्पर्क नं. ९८४१८३०९०३ मा पनि सम्पर्क गरि शुशीलको लागि सहयोग गर्न सकिने बताइएको छ । “सकेको मानवीय सहयोग गरि एक होनहार युवा साथीको जीवन रक्षाको लागि हामी सबैमा अपिल गर्दछौं “ पुष्पराजले भने ।

 

Logo