देबु वोराको एकल नृत्य साँझ हुने

देबु वोराको एकल नृत्य साँझ हुने


काठमाडौं । नृत्य निर्देशक देवु वोराको एकल नृत्य साँझ हुने भएको छ । असोज ८ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा वोराको एकल नृत्य साँझ आयोजना गरिएको हो । हिमाल डेन्टल हस्पिटलले आयोजना गरेको कार्यक्रममा बोराले एक दर्जन बढी गीतमा आफ्नो नृत्यु देखाउने कार्यक्रम रहेको छ ।

कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा हिमाल डेन्टल हस्पिटलका अध्यक्ष डा. राजेन्द्र भट्टले सुदूरपश्चिमको चर्चित ठाडी भाका, छलिया, हुड्क्यौली, थारु भाषाको सोह्र सिंगार, धमाली, चन्चल लगायतका नृत्यहरू प्रस्तुत हुने जानकारी दिए ।

साँझ चार बजेदेखि आयोजना गरिने कार्यक्रममा वोराले विभिन्न जातजातिको पहिरनमा सजिएर प्रतिभा पस्कनेछन् । बैतडीमा जन्मिएर कर्मथलो काठमाडौंलाई बनाइरहेका बोरा लामो समयदेखि कोरियाग्राफी गर्दै आएका छन् ।

सुदूरपश्चिमको कला संस्कृतिलाई जर्गेना गर्दै आएका वोराले नृत्य मार्फत नै देश परदेशमा आफुलाई चिनाउन सफल भएको डबल बोहराको भनाइ छ । कार्यक्रममा आयोजकले वोरालाई सम्मान गर्ने कार्यक्रम छ । सोही कार्यक्रममार्फत पहिलो पटक एक जनालाई ५० हजार रुपैयाँ राशीको ‘हिमाल डेउडा रत्न’ पुरस्कारबाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।

सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रको मौलिक कला संस्कृतिको संरक्षणमा सहयोग पुर्‍याएका एक जनालाई उक्त सम्मान दिइने अध्यक्ष भट्टले बताए । ग्रामिण क्षेत्रमा बसेर पनि कला संस्कृतिको संरक्षणमा टेवा पुर्‍याएका तर राष्ट्रिय पुरस्कार तथा सम्मानको पहुँचमा नपुगेलाई उक्त सम्मान दिइनेछ ।

अबको केही वर्षमा उक्त पुरस्कारको राशी बढाउने अध्यक्ष भट्टले घोषणा गरे । ‘२/४ वर्षमा यो राशीलाई कम्तिमा ५ लाख रुपैयाँ पुर्‍याउँछु । यसले गर्दा उनको परिवार पालिन सहयोग पुगोस् ।’ अध्यक्ष भट्टले भने ।

आफु पनि गीत संगीतमा रुची राख्ने भएकाले सुदूरपश्चिमको कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा आफ्नो तर्फबाट सानो पहल गरेको अध्यक्ष भट्टको भनाइ छ ।

Logo