भीमदत्त नगरपालिकाको १९ नम्बर वडा कार्यालयमा आगजनी

भीमदत्त नगरपालिकाको १९ नम्बर वडा कार्यालयमा आगजनी


कञ्चनपुर । भीमदत्त नगरपालिकाको वडा नम्बर १९ को वडा कार्यालयमा आगजनी गरिएको छ । अज्ञात समुहले शुक्रबार बिहान ४ बजे आगजनी गरेको १९ नम्बर वडाका वडाध्यक्ष दामोदर महराले जानकारी दिए ।

आगजनीबाट कार्यालयका फर्निचर, कुर्सी, कार्पेट, सोफासेट लगायतका सामाग्री जलेर नष्ट भएका छन् । करिब पाँच लाख बढीको क्षती भएको वडा अध्यक्ष महराले बताए । आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

आगजनी गरिएको क्षेत्रमा प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको नेकपा समूहले छाडेको पर्चा फेला परेको छ । जसमा वडाध्यक्षले भ्रष्टाचार गरेको, विभिन्न योजनामा कमिशन खोजेको जस्ता आरोप लगाइएको छ ।

आजभन्दा एक वर्षअघि विप्लव समूहका केही कार्यकर्ताहरूले पार्टीको सम्मेलनको लागि भन्दै चन्दा माग गरेका थिए । बजेटको दुई प्रतिशत चन्दा माग गरेका उनीहरूलाई वडाअध्यक्ष महराले व्यक्तिगत रुपमा सहयोग गर्न सकिने तर वडा कार्यालयबाट रकम दिन नसकिने जवाफ दिएका थिए । त्यसपछि अहिलेसम्म कुनै प्रकारको धम्की नआएको वडाध्यक्ष महराको भनाइ छ ।

एकाएक वडा कार्यालयमा आगजानी गरिएको उनले बताए । आफुमाथि भ्रष्टाचार गरेको, आयोजनामा कमिशन खाएको जस्ता लगाइएको आरोप झुठा भएको उनको भनाइ छ । चन्दा नदिएको रिस पोख्न वडा कार्यालयमा आगजनी गरिएको वडा कार्यालयले जनाएको छ ।

अज्ञात समूहद्वारा आगजानी गरिएको वडाअध्यक्ष जगतबहादुर सिंहको कार ।

यता शुक्लाफाँटा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष जगतबहादुर सिँहको गाडीमा समेत अज्ञात समूहले आगजनी गरेको छ ।

वडा अध्यक्षको बा २१ च ८५०७ नम्बरको कारमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । पार्किङमा राखिएको कारमा बिहान साढे १ बजेको समयमा आगजनी गरिएको वडा अध्यक्ष सिँहले बताए ।

Logo