उपनिर्वाचनमा काङ्ग्रेसलाई जिताउन देउवाको आग्रह

उपनिर्वाचनमा काङ्ग्रेसलाई जिताउन देउवाको आग्रह


सुनसरी,

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विकासका काममा काङ्ग्रेस सदैव अग्रसर रहेकाले आउँदो उपनिर्वाचनमा आफ्नो पार्टीलाई जिताउन आग्रह गर्नुभएको छ ।

सुनसरीको धरान उपमहानगरपालिकामा बिपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापाति देउवाले देशभरी काङ्ग्रेसले जितेका नगर र गाउँपालिकामा विकासको लहर देखिएकाले धरानमा पनि काङ्ग्रेसले जित्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले राणाशासन र पञ्चायतजस्ता एकदलीय निरङकुशताका विरुद्ध विगतमा नेपाली काङग्रेसले लडेको स्मरण गराउनुहुदै आफ्नो पार्टी सङ्घीयता र लोकतन्त्रका पक्षमा सदैव लागिरहने र कसैसँग सम्झौता समेत नगर्ने धारणा व्यक्त गर्नुभयो ।

सभापति देउवाले जनताको बोल्न र लेख्न पाउने अधिकारलाई कहिं कतैबाट कुण्ठित गर्न नहुने चर्चा गर्दै काङग्रेस सदैव स्वतन्त्रता र जनताको अधिकारका पक्षमा रहनेसमेत स्पष्ट गर्नुभयो । पार्टीका उपसभपाति विजयकुमार गच्छादारले पार्टीभित्र एकता कायम गरी आउँदो निर्वाचनमा काङ्ग्रेसका पक्षमा जनमत सिर्जना गर्न आग्रह गर्नुभयो ।

सरकारले संविधान तोडमोड गर्न खोज्यो : महामन्त्री कोइराला

यस्तै नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सरकारले संविधानलाई नै तोडमोड गर्न खोजेको आरोप लगाउनु भएको छ । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासङ्घको तेस्रो वार्षिक साधारणसभाको गैँडाकोटमा उद्घाटन गर्नुहुँदै उहाँले काङ्ग्रेस यसमा सतर्क रहेको बताउनुभयो ।

महामन्त्री कोइरालाले भन्नुभयो, “तपाइँहरुको साथ र सहयोग रह्यो भने हामी संविधानलाई तोडमोड गर्न दिदैनौं । जननायक बिपी कोइरालाले २०१२ सालमा नेपालमा संविधानसभामार्फत बनेको संविधान चाहिन्छ भन्नुभएको प्रसङ्ग उल्लेख गर्दै उहाँले संविधानसभाबाट ल्याइएको संविधानलाई केरमेट हुन काङ्ग्रेसले किमार्थ नदिने बताउनुभयो ।
रासस

Skip This
Logo